आगलागी नियन्त्रण तथा उद्धार सामग्री प्रहरीलाई हस्तान्तरण

पोखरा, असोज १ । नेपाल उद्योग वाणिज्य महासंघ, गण्डकी प्रदेशले जिल्ला प्रहरी कार्यालय कास्कीलाई आगलागी नियन्त्रण तथा उद्धारका सामग्री हस्तान्तरण गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीको सभाहलमा आज आयोजित कार्यक्रममा प्रहरी उपरीक्षक नवीन कार्कीज्यूको प्रमुख उपस्थितिमा उक्त सामग्री हस्तान्तरण गरिएको हो। नेपाल उद्योग वाणिज्य महासंघ, गण्डकी प्रदेशका उपाध्यक्ष सूर्यबहादुर भुजेलज्यूको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

 

नेपाल उद्योग वाणिज्य महासंघ, गण्डकी प्रदेशले स्टेचर ५ थान, फायर एक्स्टिङ्ग्विसर १६ थान, पञ्जा ३ थान र फायर ब्ल्याङ्केट १२ थान प्रहरीलाई हस्तान्तरण गरेको हो।

 

कार्यक्रममा प्रहरी उपरीक्षक नवीन कार्कीले हस्तान्तरण गरिएका सामग्री प्रहरीका सवारीसाधनमा राखी तत्काल घटनास्थलमा खटिने प्रहरीमार्फत प्रयोग गरिने बताउनुभयो। आगलागी, दुर्घटना तथा अन्य विपद्जन्य घटनामा घाइतेको तत्काल उद्धार गर्न सामग्री उपयोगी हुने उहाँको भनाइ थियो।

 

उहाँले विपद्का घटनामा प्रहरीको उद्धार कार्यलाई छिटोछरितो, सहज र सुरक्षित बनाउन सामग्रीले सहयोग पुग्ने बताउँदै सहयोगका लागि महासंघलाई धन्यवाद व्यक्त गर्नुभयो।

 

कार्यक्रममा महासंघका पदाधिकारी तथा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन कोषाध्यक्ष राजेन्द्र ओझाले गर्नुभएको थियो भने उपाध्यक्ष हरिकुमार श्रेष्ठले धन्यवाद सहित कार्यक्रमको समापन गर्नुभएको थियो।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...