पोखरा । क्लब मिडिया एन्ड मल्टिपर्पोज प्रालिअन्तर्गत नयाँलिपि न्युज डटकमद्वारा आयोजित गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को उपाधि नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) गण्डकीले जितेको छ।

शनिबार पोखरा रंगशालास्थित बहुउद्देश्यीय खेलमैदानमा भएको फाइनल खेलमा एनएसजेएफ गण्डकीले नेपाल पत्रकार महासंघ बागलुङलाई २–० गोलले पराजित गर्दै उपाधि हात पारेको हो। उपाधिसँगै गण्डकीले नगद ५० हजार रुपैयाँ, शिल्ड, पदक र प्रमाणपत्र प्राप्त गरेको छ।
उपविजेता बागलुङले नगद ३० हजार रुपैयाँ, शिल्ड, पदक र प्रमाणपत्र प्राप्त गरेको छ। बागलुङका रोहन जिसी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद ५ हजार रुपैयाँ प्राप्त गरे।
प्रतियोगिताको सर्वोत्कृष्ट प्रशिक्षक गण्डकीकै धनबहादुर गुरुङ (सुमन) घोषित भए। उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे। सर्वोत्कृष्ट प्रशिक्षक र खेलाडीलाई एडभेन्चर पार्टनर गो बन्जीमार्फत फ्लाइट कुपनसमेत प्रदान गरिएको आयोजकले जनाएको छ।
विजेता तथा उपविजेता टोली र खेलाडीलाई गण्डकी विश्वविद्यालयका उपकुलपति डा. कृष्णराज अधिकारीले पुरस्कार प्रदान गरे। सो अवसरमा उनले सञ्चारकर्मीले खेलमार्फत स्वास्थ्य र भाइचाराको सन्देश प्रवाह गर्न खोजेको भन्दै प्रतियोगिताको प्रशंसा गरे।
समापन कार्यक्रममा बोल्दै डा. अधिकारीले गण्डकी विश्वविद्यालयले खेल व्यवस्थापनसम्बन्धी अध्ययन–अध्यापन गराइरहेको जानकारी दिँदै आगामी शैक्षिक सत्रदेखि फुटसललाई समेत पाठ्यक्रममा समेट्ने योजना रहेको बताए। उनले भने, ‘पत्रकारहरूको जागरुकता र खेलप्रतिको चासोप्रति आभार छ। आगामी दिनमा मिडियासँग सहकार्य गर्दै विश्वविद्यालयले कार्यक्रमको खाका तयार गर्नेछ।’
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापालगायतले आयोजकलाई सफलताको शुभकामना दिएका थिए।
आयोजक क्लब मिडियाका अध्यक्ष सुरज श्रेष्ठले प्रतियोगिता सफल बनाउन पत्रकार तथा पत्रकारसँग आबद्ध संस्थाहरूले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी वर्ष प्रतियोगिताको आकार अझ फराकिलो बनाउने बताए।
श्रेष्ठले प्रतियोगिताको उद्देश्य फुटसल खेलमा मात्र सीमित नरहेको बताए। उनले भने, ‘प्रतियोगिताबाट हुने आम्दानीमध्ये केही रकम भोटेकोशी बाढीबाट प्रभावितको हितमा खर्च गरिनेछ।’ उनका अनुसार आगामी दिनमा पत्रकार तथा व्यवसायीलाई लक्षित गरी थप कार्यक्रम आयोजना गरिनेछ।
प्रतियोगिताको मुख्य प्रायोजक पोखरा महानगरपालिका वडा नम्बर १२ र कफी डि हिमालयन (सीडीएच) रहेका थिए।
आयोजकका अनुसार प्रतियोगिताको सहयोगी संस्थाका रूपमा प्रदेश खेलकुद परिषद् गण्डकी, जिल्ला खेलकुद विकास समिति कास्की, पोखरा महानगरपालिका खेलकुद विकास समिति र पोखरा महानगरपालिका वडा नम्बर ३ रहेका थिए।
प्रतियोगिताको प्रवर्द्धकका रूपमा एड्भर्टाइजिङ एजेन्सी तथा लिड्स इभेन्ट्स र एडभेन्चर पार्टनरका रूपमा गो बन्जी तथा प्रिन्टिङ पार्टनरका रूपमा पीएम सोलुसन रहेका थिए।
यस्तै, प्रतियोगिताको मेडिकल पार्टनरमा गण्डकी मेडिकल कलेज तथा अस्पताल र हस्पिटालिटी पार्टनरमा चाइनिज गार्डेन रेस्टुरेन्ट एन्ड बार तथा इन्स्योरेन्स पार्टनरमा सगुन रहेको आयोजकले जनाएको छ।
प्रतियोगितामा बाराही स्पोर्ट्स, डीजी साउन्ड सिस्टमका सञ्चालक मनिष भुज, नृत्य संयोजनतर्फ मनिष भुज, होटल पार्टनर होटल एडमायर प्रालि तथा भेन्यु पार्टनर सफल बैंकटलगायतले सहयोग गरेका थिए।