निःशुल्क तथा अनिवार्य शिक्षाको प्रभावकारी कार्यान्वयनमा जोड

पोखरा । निःशुल्क तथा अनिवार्य शिक्षाको अधिकारलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्नुपर्नेमा पोखरामा मंगलबार आयोजित अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले जोड दिएका छन्।

‎ बहिनी एडुकेयर फाउण्डेसनको आयोजना र शिक्षा विकास तथा समन्वय इकाइ, कास्कीको समन्वयमा भएकाे ‘निःशुल्क तथा अनिवार्य शिक्षाको अधिकार र कार्यान्वयन’ विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले साे कुरामा जाेड दिएका हुन् ।

‎कार्यक्रममा विद्यालय बाहिर रहेका बालबालिकाको पहिचान, शिक्षामा पुनःसमावेश र सबै बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्ने विषयमा छलफल भएको थियो।

‎कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले निःशुल्क तथा अनिवार्य शिक्षासम्बन्धी कानुनी व्यवस्था र कार्यान्वयनको अवस्थाबारे प्रस्तुति राखेका थिए ।

‎राष्ट्रिय मानव अधिकार आयोग पोखरा कार्यालयकी प्रमुख नितु गर्तौलाले निःशुल्क शिक्षाको व्यवहारिक कार्यान्वयनमा जोड दिइन्।

‎गैरसरकारी संस्था महासंघ नेपाल, कास्कीकी अध्यक्ष इन्दिरा पौडेलले सामाजिक संघसंस्था सरकारका सहयोगी निकायका रूपमा शिक्षाको पहुँच विस्तारमा सहकार्य गर्नुपर्ने बताइन्।

‎बहिनी एडुकेयर फाउण्डेसनका निर्देशक सुरेन्द्र परियारले स्वागत गर्दै कार्यक्रमको उद्देश्यबारे जानकारी दिएका थिए।

‎कार्यक्रममा स्थानीय तहका शिक्षा शाखा, राष्ट्रिय मानव अधिकार आयोग, गैरसरकारी संस्था, विद्यालयका प्रधानाध्यापक, बाल क्लब, पत्रकार तथा अधिकारकर्मीलगायतको सहभागिता थियो।

‎कार्यक्रमका वक्ताहरूले निःशुल्क तथा अनिवार्य शिक्षाको अधिकार प्रभावकारी बनाउन स्थानीय तह, विद्यालय, सरकारी निकाय र सामाजिक संघसंस्थाबीच सहकार्य आवश्यक रहेको बताए।

‎बहिनी एडुकेयर फाउण्डेसनका अध्यक्ष अभिजित श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन दिगो विकास भविष्य कार्यक्रमकी संयोजक देवी चन्दले गरेकी थिइन्।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...