पोखराको आकाशमा अन्तर्राष्ट्रिय उडानको नयाँ आशा

वर्षौँको प्रतीक्षा, अनेक प्रयास र अब फ्लाई दुबईको नियमित उडान

एकराज गिरी /पोखरा । पोखराको आकाश आजदेखि फेरि अन्तर्राष्ट्रिय उडानले जोडिँदैछ। लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित व्यावसायिक उडान सुरु गर्दैछ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सपना आजको होइन। दशकौँदेखि पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोड्ने चर्चा हुँदै आएको थियो। त्यसका लागि जग्गा व्यवस्थापनदेखि विमानस्थल निर्माणको योजना, पूर्वाधार विकास र विभिन्न तहमा भएका पहलले अन्ततः पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको आधार तयार गरेको हो।

 

विसं २०७९ पुस १७ गते अंग्रेजी नयाँ वर्षको अवसर पारेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पोखरेलीले आफ्नो विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुने अपेक्षा गरेका थिए। विमानस्थल सञ्चालनमा आए पनि अपेक्षाअनुसार नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्दा पोखराको पर्यटन क्षेत्रसँगै उद्योगी, व्यवसायी र सर्वसाधारणमा निराशा बढ्दै गएको थियो।

 

विमानस्थल सञ्चालनपछि केही वायु सेवा कम्पनीले चार्टर तथा विशेष प्रकृतिका अन्तर्राष्ट्रिय उडान गरे पनि ती नियमित हुन सकेनन्। अन्तर्राष्ट्रिय विमानस्थल भएर पनि नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा विमानस्थलको उपयोग, लगानीको प्रतिफल र पोखराको अन्तर्राष्ट्रिय पर्यटन सम्भावनाबारे निरन्तर प्रश्न उठ्दै आएको थियो।

 

यही पृष्ठभूमिमा फ्लाई दुबईको नियमित उडानलाई पोखराका पर्यटन व्यवसायीले नयाँ सुरुवातका रूपमा हेरेका छन्।

 

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार फ्लाई दुबईको विमान बुधबार साँझ ६ः१५ बजे पोखरा अवतरण गर्नेछ भने यात्रु लिएर साँझ ७ः१५ बजे दुबईका लागि प्रस्थान गर्नेछ। पहिलो उडानलाई पोखरा विमानस्थलमा पानीको फोहराले स्वागत गरिनेछ।

 

अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक अध्यागमन, भन्सार, कार्गो लगायतका सेवा तथा पूर्वाधार व्यवस्थापनको तयारी पूरा भइसकेको निरौलाले बताए।

 

“हामी आजको दिनको पर्खाइमा छौँ । विमानस्थलबाट प्रवाह गर्नुपर्ने सम्पूर्ण तयारीका काम पूरा भएका छन्,” उनले भने, “विमानस्थल सञ्चालनपछि केही वायु सेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान गरे पनि त्यसले निरन्तरता पाउन सकेको थिएन। अहिले दुबईका लागि दैनिक नियमित उडान सुरु हुन लागेको अवस्थामा हामी उत्साहित छौँ।”

 

सपना देखिएको धेरै वर्षपछि विमानस्थल

 

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने विषयमा लामो समयदेखि बहस र प्रयास हुँदै आएको थियो। पुरानो पोखरा विमानस्थलले बढ्दो हवाई चाप र ठूला विमानको आवश्यकता पूरा गर्न नसक्ने अवस्था आएपछि नयाँ विमानस्थल निर्माणको आवश्यकता झनै स्पष्ट हुँदै गएको थियो।

 

पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोड्ने उद्देश्यसहित नयाँ विमानस्थल निर्माणका लागि जग्गा अधिग्रहण, पूर्वाधार तयारी र निर्माण प्रक्रियाका विभिन्न चरण पार गरिए। लामो समयको प्रतीक्षा र अनेकौँ प्रयासपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भयो।

 

विमानस्थल निर्माणसँगै पोखराको पर्यटन, व्यापार र समग्र आर्थिक गतिविधिमा नयाँ सम्भावना खुल्ने अपेक्षा गरिएको थियो। विमानस्थल सञ्चालन भएको दिन पोखरेलीका लागि लामो समयको सपना पूरा भएको क्षण थियो।

 

तर विमानस्थल सञ्चालनमा आएपछि पनि नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा त्यो उत्साह अपेक्षाअनुसार व्यवहारमा देखिन सकेन।

अब दुबईसँग जोडिँदै पोखरा

 

फ्लाई दुबईको नियमित उडानले भने पोखराको अन्तर्राष्ट्रिय हवाई सम्पर्कलाई नयाँ चरणमा प्रवेश गराउने अपेक्षा गरिएको छ।

 

दुबई विश्वकै महत्वपूर्ण हवाई ट्रान्जिट केन्द्रमध्ये एक हो। फ्लाई दुबईले दुबईबाट विश्वका विभिन्न गन्तव्यमा उडान सञ्चालन गर्दै आएको छ। त्यसैले पोखरा–दुबई सीधा उडानले पोखरालाई दुबईसँग मात्र नभई दुबई हुँदै अन्य अन्तर्राष्ट्रिय गन्तव्यसँग जोडिने अवसरसमेत सिर्जना गर्ने पर्यटन व्यवसायीको अपेक्षा छ।

 

पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठका अनुसार फ्लाई दुबईले १२० भन्दा बढी गन्तव्यमा उडान गर्ने भएकाले पोखरा–दुबई उडान नियमित र दीर्घकालीन बनाउन सकिने सम्भावना छ।

 

“फ्लाई दुबईको विश्वका धेरै सहरमा आफ्नै उडान छ । यसबाहेक दुबई विश्वका धेरै सहरका लागि एयर ट्रान्जिट हब हो । यसबाट पोखराको अन्तर्राष्ट्रिय उडानलाई दीर्घकालीन बनाउन सकिन्छ,” उनले भने।

 

नेपाली युवा रोजगारी तथा अध्ययनका लागि ठूलो सङ्ख्यामा दुबई जाने भएकाले पोखराबाटै सीधा उडान सुरु हुँदा यात्रुलाई समेत सहज हुने श्रेष्ठको भनाइ छ।

पर्यटन व्यवसायीको उत्साह

 

पोखराको अर्थतन्त्रको ठूलो आधार पर्यटन हो। अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुनुको एउटा प्रमुख उद्देश्य पनि पोखरालाई विश्वका पर्यटकीय गन्तव्यसँग प्रत्यक्ष हवाई सम्पर्कमा जोड्नु थियो

 

फ्लाई दुबईको नियमित उडान सुरु भएपछि पोखरामा विदेशी पर्यटकको आगमन बढाउन सहज हुने, पोखरासँग जोडिएका पदयात्रा तथा पर्यटकीय क्षेत्रले अन्तर्राष्ट्रिय बजारमा थप पहुँच पाउने र पर्यटन व्यवसायमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

 

फ्लाई दुबईको विमानबाट पोखरा आउने तथा पोखराबाट दुबई जाने यात्रु र पर्यटकलाई पोखराका पर्यटन व्यवसायीले खादा र मालासहित स्वागत तथा बिदाइ गर्ने तयारी गरेका छन्।

 

यो स्वागत केवल एउटा विमानलाई गरिने स्वागत मात्र होइन, लामो समयदेखि अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखराको पर्यटन क्षेत्रको आशा र उत्साहको प्रतीकसमेत बनेको छ।

भन्सारदेखि सुरक्षा व्यवस्थासम्म तयारी

नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि विमानस्थलमा आवश्यक सरकारी संयन्त्रसमेत तयारी अवस्थामा राखिएको छ।

 

पोखरा विमानस्थल भन्सार कार्यालयका प्रमुख हरि भण्डारीका अनुसार भन्सार नियमानुसार गर्नुपर्ने सबै कामको तयारी पूरा भएको छ।

 

“राजस्व सङ्कलन, वैध व्यापारलाई सहजीकरण तथा यात्रुको जाँचपास र निकासी–पैठारीको काम हामी गर्छौं। त्यसका लागि आवश्यक सबै तयारी र व्यवस्थापन मिलाइसकिएको छ,” उनले भने ।

 

अन्तर्राष्ट्रिय उडानलाई लक्षित गर्दै जिल्ला सुरक्षा समितिले समेत विमानस्थलको निरीक्षण गरेको छ। प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङका अनुसार विमानस्थलमा आवश्यक सबै सुरक्षा प्रबन्ध मिलाइएको छ।

 

यससँगै अध्यागमन, भन्सार, सुरक्षा, कार्गो लगायतका निकाय एकै ठाउँबाट अन्तर्राष्ट्रिय यात्रु व्यवस्थापनका लागि तयारी अवस्थामा छन्।

अबको चुनौती : उडानलाई नियमित र दीर्घकालीन बनाउनु

पोखराले अन्तर्राष्ट्रिय विमानस्थल पाएको छ। अबको मुख्य चुनौती भनेको विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानलाई नियमित, दिगो र विस्तार गर्नु हो।

 

एउटा वायु सेवा कम्पनीको उडान सुरु हुनु आफैँमा महत्वपूर्ण सुरुवात भए पनि पोखराको अन्तर्राष्ट्रिय विमानस्थलले पूर्ण क्षमतामा सेवा दिन थप अन्तर्राष्ट्रिय गन्तव्य र वायु सेवा कम्पनीसँगको सम्पर्क विस्तार आवश्यक देखिन्छ।

 

पोखराको पर्यटन बजार, यहाँ आउने विदेशी पर्यटकको सङ्ख्या, यात्रुको आवागमन, विमानस्थलको व्यावसायिक सम्भावना र अन्तर्राष्ट्रिय हवाई सञ्जालसँगको सम्बन्धलाई बलियो बनाउन नियमित उडानको निरन्तरता महत्वपूर्ण हुनेछ।

 

विमानस्थल निर्माणका लागि दशकौँसम्म गरिएको प्रयास, ठूलो लगानी र पोखरेलीको लामो प्रतीक्षापछि प्राप्त यो अवसरलाई कसरी दीर्घकालीन उपलब्धिमा रूपान्तरण गर्ने भन्ने प्रश्न अब पोखरासामु छ।

 

आज साँझ ६ः१५ बजे फ्लाई दुबईको विमान पोखराको धावनमार्गमा अवतरण गर्दा त्यो केवल एउटा अन्तर्राष्ट्रिय उडानको आगमन हुने छैन। यो पोखराले वर्षौँदेखि देखेको अन्तर्राष्ट्रिय हवाई सम्पर्कको सपनाले अर्को चरणमा प्रवेश गरेको संकेत हुनेछ।

 

अब पोखराको अपेक्षा एउटै छ—उडान सुरु होस्, निरन्तर रहोस् र पोखरालाई विश्वका सहरसँग जोड्ने अन्तर्राष्ट्रिय हवाई ढोका साँच्चिकै खुलोस्।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...