भूकम्पदेखि भोटेकोशी बाढीकाे उद्धारमा पानबहादुर जी.सी.

पोखरा । विपद् आउँदा धेरैका लागि सुरक्षित स्थान खोज्नु स्वाभाविक हुन्छ। तर, केही व्यक्ति भने जोखिमको पर्वाह नगरी पीडितको उद्धार र राहतका लागि अग्रमोर्चामा पुग्छन्। नेशनल भोलिन्टियर फोर्स, गण्डकी प्रदेशका युनिफाइड कमाण्डर पानबहादुर जी.सी. यस्तै स्वयंसेवी अभियानमा निरन्तर सक्रिय नाम हुन्।

भूकम्पदेखि बाढीसम्मका प्राकृतिक विपद्मा उनी राहत र उद्धारका लागि प्रभावित क्षेत्रमै पुग्दै आएका छन्। विपद्का बेला राहत सामग्री पुर्‍याउनेदेखि अस्थायी आवास निर्माण, पुनर्निर्माण र प्रभावित नागरिकको पुनर्स्थापनाका विषयमा सरकारको ध्यानाकर्षण गराउने काममा समेत उनको सक्रियता देखिएको छ।
२०८० साल कार्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्यूडको भूकम्पपछि नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको तर्फबाट जी.सी.को नेतृत्वमा स्वयंसेवक टोली प्रभावित क्षेत्रमा पुगेको थियो।

रुकुम पश्चिमको चौरजहारी नगरपालिकालगायतका भूकम्प प्रभावित क्षेत्रमा परिचालित टोलीले ५५ वटा अस्थायी टहरा निर्माण गरेको थियो। टोलीले खाद्यान्न, सिरक, त्रिपाल तथा लत्ताकपडा वितरण गर्नुका साथै विद्यालय र स्वास्थ्य चौकीको पुनर्निर्माणमा समेत सहयोग गरेको थियो।

भूकम्प प्रभावित नागरिकको पीडा केही मत्थर हुँदै गर्दा अर्को प्राकृतिक विपद्ले ठूलो चुनौती थप्यो। २०८३ भाद्र १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका बेला पनि जी.सी. उपनेताका रूपमा उद्धार तथा राहत अभियानको अग्रमोर्चामा खटिए।


बाढी प्रभावित नागरिकका लागि खाद्यान्न, लत्ताकपडा, त्रिपाल, औषधिलगायत अत्यावश्यक सामग्री बोकेका दुई गाडी र स्वयंसेवक टोलीसहित उनी आफैं प्रभावित क्षेत्रमा पुगे। राहत वितरणसँगै प्रभावित नागरिकको अवस्था बुझ्ने र आवश्यक सहयोग जुटाउने काममा समेत उनी सक्रिय रहे।

 

जी.सी.का लागि विपद् व्यवस्थापन केवल तत्काल राहत वितरणमा सीमित छैन। बाढी प्रभावित नागरिकको उचित वासस्थान, क्षतिपूर्ति र दीर्घकालीन पुनर्स्थापनाका लागि स्थानीय तथा केन्द्रीय सरकारको ध्यानाकर्षण गराउँदै प्रभावितको आवाज सरकारसम्म पुर्‍याउने काम पनि उनले गर्दै आएका छन्।

 

हाल नेशनल भोलिन्टियर फोर्स, गण्डकी प्रदेशमार्फत विपद् व्यवस्थापनमा सक्रिय जी.सी.ले जुनसुकै आपत्कालीन परिस्थितिमा पनि स्वयंसेवक परिचालनका लागि आफूहरू २४ सै घण्टा तयार रहेको बताएका छन्।

 

उनले विपद्को समयमा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गर्दै अपुष्ट तथा भ्रमपूर्ण समाचार सम्प्रेषण नगर्न पनि अनुरोध गरेका छन्। विपद्को समयमा सत्यतथ्य सूचना र आवश्यकताका आधारमा स्वयंसेवक परिचालनलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।

 

भूकम्पपछि अस्थायी टहरा निर्माणदेखि भोटेकोशीको बाढीमा राहत तथा उद्धारसम्म आइपुग्दा जी.सी.को स्वयंसेवी अभियान विपद्मा परेका नागरिकको साथमा उभिने निरन्तर प्रयासका रूपमा देखिएको छ। राहतसँगै पुनर्निर्माण र पुनर्स्थापनालाई पनि उत्तिकै महत्व दिँदै उनी स्वयंसेवी अभियानलाई निरन्तरता दिने प्रतिबद्धतामा छन्।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...