पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा कास्कीमा पार्टीको आन्तरिक राजनीति तातेको छ। वडा तहदेखि क्षेत्रीय हुँदै प्रदेश तहसम्म महाधिवेशन केन्द्रित गतिविधि बढिरहेका बेला कास्की क्षेत्र नं. २ मा पनि नेतृत्व चयनको चर्चा र आकांक्षीहरूको सक्रियता बढेको छ।
कांग्रेसभित्र प्रभावशाली राजनीतिक व्यक्तित्वहरूको क्षेत्रका रूपमा चिनिने कास्की–२ बाट पोखरा महानगरपालिका–४ का पूर्ववडाध्यक्ष शंकरप्रसाद बास्तोला खुलातर्फ महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिने तयारीमा छन्।
पार्टीको आधारभूत तहबाट राजनीतिक यात्रा सुरु गरेका बास्तोला अहिले संगठनको वडा तहदेखि क्षेत्र, स्थानीय सरकार हुँदै प्रदेश तहसम्मको अनुभव बोकेर महाधिवेशनको मैदानमा उत्रिँदै छन्। उनका लागि यो उम्मेदवारी केवल एउटा पदको दाबीभन्दा पनि लामो राजनीतिक यात्रालाई पार्टीको आगामी दिशासँग जोड्ने प्रयासका रूपमा देखिएको छ।
कांग्रेसको १३औँ महाधिवेशनमा क्षेत्रीय सचिवको जिम्मेवारी सम्हालेका बास्तोला स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट पोखरा महानगरपालिका–४ को वडाध्यक्ष निर्वाचित भएका थिए। जनप्रतिनिधिका रूपमा वडाको विकास, सेवा प्रवाह र स्थानीय सरोकारका विषयमा सक्रिय भूमिका निर्वाह गरेका उनले त्यसपछि पनि पार्टी संगठनसँगको आफ्नो सम्बन्धलाई निरन्तरता दिँदै आएका छन्।
१४औँ महाधिवेशनमा गण्डकी प्रदेश महाधिवेशन प्रतिनिधि बनेका बास्तोलाले वडा, क्षेत्र, स्थानीय सरकार र प्रदेश तहको अनुभव सँगालिसकेका छन्। यही अनुभवलाई आधार बनाउँदै उनी १५औँ महाधिवेशनमा कास्की–२ बाट खुलातर्फ महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा उत्रिन लागेका हुन्।
कास्की–२ मा पूर्वमन्त्री बिन्दुकुमार थापादेखि कांग्रेसका केन्द्रीय प्रवक्ता देवराज चालिसे तथा गण्डकी प्रदेश प्रवक्ता माधवप्रसाद बास्तोला ‘मधु’सम्मका नेताहरूको राजनीतिक प्रभाव रहेको छ। यस्तो पृष्ठभूमि भएको क्षेत्रमा बास्तोलाको उम्मेदवारीले महाधिवेशन प्रतिनिधि चयनको प्रतिस्पर्धालाई थप चासोको विषय बनाएको छ।
बास्तोला भने आफ्नो उम्मेदवारीलाई व्यक्ति केन्द्रित प्रतिस्पर्धाभन्दा संगठन निर्माण र पुस्तान्तरणसँग जोडेर अघि बढाउने बताउँछन्। उनका अनुसार कांग्रेसमा अग्रजहरूको राजनीतिक अनुभव र योगदानलाई सम्मान गर्दै नयाँ पुस्ताको ऊर्जा, सिर्जनशीलता र नवीन सोचलाई संगठनसँग जोडेर अघि बढ्न आवश्यक छ।
‘अग्रजहरूको अनुभव र योगदानलाई सम्मान गर्दै युवा जोश, ऊर्जा र नवीन विचारका साथ पार्टी संगठन सुदृढीकरण र रूपान्तरणको अभियानमा सकारात्मक भूमिका निर्वाह गर्न चाहन्छु,’ बास्तोलाले भने।
पार्टीको आधारभूत तहदेखि विभिन्न जिम्मेवारीमा रहेर काम गर्दा प्राप्त अनुभवलाई आगामी दिनमा संगठन निर्माण, कार्यकर्तासँगको सम्बन्ध विस्तार र पार्टीको आन्तरिक सुदृढीकरणमा उपयोग गर्ने उनको भनाइ छ।
स्थानीय तहको जनप्रतिनिधिको अनुभवसँगै पार्टी संगठनका विभिन्न तहमा काम गरिसकेका बास्तोला अहिले अनुभव र नयाँ ऊर्जाबीचको समन्वयलाई आफ्नो राजनीतिक यात्राको आधार बनाउँदै महाधिवेशनको मैदानमा प्रवेश गर्न लागेका छन्।
कांग्रेसको १५औँ महाधिवेशनले पार्टीको आगामी नेतृत्व र राजनीतिक दिशालाई प्रभावित गर्ने भएकाले कास्की–२ मा देखिएको पछिल्लो सरगर्मीलाई कांग्रेसको आन्तरिक राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ।
