पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनिधिको खसआर्यतर्फ शर्मिला रानाभाटले उम्मेदवारी दिएकी छन्। सामाजिक सेवा, महिला सशक्तीकरण, सीप विकास तथा उद्यमशीलताको क्षेत्रमा सक्रिय रानाभाटले अब राजनीतिक नेतृत्वमार्फत समाज रूपान्तरणमा योगदान गर्ने उद्देश्यसहित उम्मेदवारी अघि सारेकी हुन्।

लामो समयदेखि सामाजिक तथा व्यावसायिक क्षेत्रमा सक्रिय रानाभाट नेपाल ब्युटिसियन संघकी उपाध्यक्ष तथा गण्डकी प्रदेश अध्यक्ष हुन्। उनी नेपाल रानाभाट समाजकी गण्डकी प्रदेश प्रमुखसमेत हुन्। महिला अधिकार, सीप विकास, रोजगारी तथा उद्यमशीलतालाई आर्थिक आत्मनिर्भरतासँग जोडेर अघि बढाउनुपर्ने धारणा राख्दै आएकी रानाभाटले महिलाको नेतृत्व र सहभागिता राज्यका हरेक तहमा अर्थपूर्ण हुनुपर्ने बताउँदै आएकी छन्।
रानाभाटका अनुसार संविधानले महिलाको अधिकार र सहभागिताको सुनिश्चितता गरे पनि व्यवहारमा अझै विभिन्न प्रकारका विभेद, हिंसा र सामाजिक चुनौतीहरू कायम छन्। यस्ता चुनौतीको सामना गर्न महिलालाई अधिकारका विषयमा मात्र होइन, सीप, शिक्षा, रोजगारी र उद्यमशीलतामार्फत आत्मनिर्भर बनाउन आवश्यक रहेको उनको धारणा छ।
‘महिलाको आवाज बन्ने, पीडित महिलालाई साथ दिने र महिलालाई आर्थिक तथा सामाजिक रूपमा सक्षम बनाउने अभियानमा निरन्तर लागिरहने मेरो प्रतिबद्धता छ,’ रानाभाटले भनेकी छन्।
महिला सक्षम र आत्मनिर्भर भए परिवारदेखि समाज हुँदै राष्ट्र निर्माणमा समेत सकारात्मक योगदान पुग्ने उनको विश्वास छ। महिलाको क्षमता पहिचान गरी अवसर र नेतृत्वमा समान पहुँच सिर्जना गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको उनी बताउँछिन्।
राजनीतिलाई सामाजिक रूपान्तरणको माध्यमका रूपमा अघि बढाउने लक्ष्यसहित महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएको रानाभाटले पार्टी संगठनलाई थप मजबुत, एकताबद्ध र जनमुखी बनाउन आफूले सक्रिय भूमिका निर्वाह गर्ने बताएकी छन्। पार्टीप्रतिको आफ्नो निरन्तर योगदान, सक्रियता र जिम्मेवारीलाई अझ प्रभावकारी रूपमा अघि बढाउने उनको प्रतिबद्धता छ।
उम्मेदवारीसँगै रानाभाटले पार्टीका नेता, कार्यकर्ता तथा प्रतिनिधिहरूसँग आफ्नो पक्षमा विश्वास, साथ र सहयोगका लागि आग्रह गरेकी छन्। ‘एकपटक अवसर दिनुहोस्, तपाईंहरूको विश्वासलाई कामबाट प्रमाणित गर्नेछु,’ उनले भनेकी छन्।
सामाजिक तथा महिला उद्यमशीलताको क्षेत्रमा काम गर्दै आएकी रानाभाटको राजनीतिक यात्रालाई पनि महिला नेतृत्वसँग जोडेर हेरिएको छ। महिलाको क्षमता, सीप र संगठनलाई अझ मजबुत बनाउँदै महिला–महिलाबीचको एकता र सहकार्य बढाउन सके समाज र राष्ट्रको समृद्धिमा योगदान पुग्ने उनको विश्वास छ।
आगामी दिनमा महिला अधिकार, सीप विकास, उद्यमशीलता र सामाजिक रूपान्तरणका क्षेत्रमा आफ्नो भूमिका थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दै रानाभाटले राजनीतिक नेतृत्वमा पनि महिलाको अर्थपूर्ण सहभागिता आवश्यक रहेको बताएकी छन्।
महिला सशक्तीकरणको अभियानलाई सामाजिक क्षेत्रमा सीमित नराखी राजनीतिक नेतृत्वसँग जोड्ने प्रयासका रूपमा उनले आफ्नो उम्मेदवारीलाई अघि सारेकी छन्। पार्टी संगठनभित्र सक्रिय भूमिका निर्वाह गर्दै सामाजिक क्षेत्रमा हासिल गरेको अनुभवलाई राजनीतिक जिम्मेवारीमार्फत जनताको हितमा उपयोग गर्ने उनको लक्ष्य छ।
