पोखरा । पोखरा महानगरपालिका–९ नयाँबजारस्थित राष्ट्रिय वाणिज्य बैंकको पर्खाल बाहिर शंकास्पद अवस्थामा सुटकेश फेला परेको छ।

बुधबार बिहान करिब ९ः४५ बजे निलो रङको सुटकेश बेवारिसे अवस्थामा रहेको सूचना पाएपछि वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

प्रहरीले सुटकेशलाई माथिबाट सुकेको घाँसले छोपेर राखिएको अवस्थामा फेला पारेपछि घटनास्थलको सुरक्षा गरेको थियो। त्यसपछि नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालको सहयोगमा नेपाली सेनाको बम डिस्पोजल टोलीले सुटकेश खोलेर जाँच गरेको थियो।
जाँचका क्रममा सुटकेशभित्र कुनै पनि वस्तु फेला नपरेको र सुटकेश खाली रहेको प्रहरीले जनाएको छ।प्रहरी नायव उपरीक्षक वीरेन्द्रकुमार पासवानले घटनाबारे जानकारी दिएका हुन्।
