पोखरा । कास्कीको बेगनास तालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक युवक मृत अवस्थामा फेला परेका छन्।
जिल्ला सल्यान घर भई हाल पोखरा महानगरपालिका–१४ खसीबजार बस्दै आएका २४/२५ वर्षीय नरेश विक शुक्रबार साँझ पोखरा–३२ स्थित बेगनास तालमा नुहाउने तथा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए।
बेपत्ता भएको खबर प्राप्त भएपछि सशस्त्र प्रहरी बल, नेपाल नं. २४ गण हेडक्वार्टर कालिकाबाट सशस्त्र प्रहरी निरीक्षक शरणबहादुर खड्काको नेतृत्वमा गोताखोरसहित ११ जनाको टोली साँझ ५ः५५ बजे खोजीका लागि घटनास्थल पुगेको थियो।
खोजीका क्रममा सशस्त्र प्रहरी जवान देवराज खनाल र युवराज श्रेष्ठले साँझ ७ः०३ बजे तालको करिब २५ फिट गहिराइबाट विकलाई मृत अवस्थामा फेला पारेका हुन्।
मृतकको शव इलाका प्रहरी कार्यालय शिसुवाबाट प्रहरी निरीक्षक सन्तोष पौडेलको नेतृत्वमा पुगेको टोलीलाई बुझाइएको थियो। प्रहरीले शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, रामघाट पठाएको सशस्त्र प्रहरीले जनाएको छ।
