फेवा ड्यामको दिगो संरक्षण र ढल निमार्णलाई प्राथमिकता दिन पाेखरा १७ का नागरिकको माग

पोखरा, असोज १८/पोखरा महानगरपालिका वडा नम्बर १७ का वडाबासीले फेवातालमा बनेको फेवा ड्यामको दिगो संरक्षणमा पहलकदमी लिन र सडकमा बग्ने पानीको निकासका लागि ढल निर्माणलाई प्राथमिकता दिएर काम गर्न जनप्रतिनिधिको ध्यानाकर्षण गराएका छन् ।


पोखरा महानगरपालिका वडा नं. १७ को आयोजना तथा पोखरा टेलिभिजनको सहजीकरणमा आइतबार भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा वडाबासीले खानेपानीे र यातायात समस्याको समाधान, सिसिटिभी जडान गरी वडालाई प्रविधिबाट निगरानी गर्न, सिँचाइको कुलोको उचित व्यवस्थापन, दिगो विकास र सुशासन लागतयका विषय उठाएका छन् ।

सहभागीहरूले वडाको सेवा प्रवाहलाई अझ बढी नागरिकमैत्री र पारदर्शी बनाउन सुझव दिएका छन् । फेवा ड्यामको संरक्षणमा अबपनि ध्यान नदिने हो भने ड्याम भन्दा तलका बस्तीहरु जोखिममा रहेको उनीहरुले औँल्याएका छन् । फेवा ड्याम बनेको चार दशक वितिसकेको छ भने करिब ६ वर्ष अघि मर्मत गरिएको थियो ।


वडाबासीले राखेका जिज्ञासाको जवाफदिँदै वडा अध्यक्ष राधिका साही योगीले जनताले उठाएका विषय र समस्याहरूलाई वडा कार्यालयले उच्च प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अध्यक्ष शाहीले वडाको बजेटले मात्र ठूला योजनाहरू सम्पन्न गर्न नसकिने स्पष्ट पार्नुहुँदै, फेवा ड्यामको दिगो संरक्षण र वडाभित्रको ढल निकासको दीर्घकालीन व्यवस्थापनका लागि पोखरा महानगरपालिका, प्रदेश सरकार, केन्द्र सरकार र सरोकारवाला सम्बन्धित निकायहरूसँग आवश्यक सहयोग, समन्वय र साझेदारीमा काम अगाडि बढाइने बताउनुभयो ।

 

‘नागरिकहरूले उठाएको आवाज नै वडा विकासको मुख्य मार्गचित्र हो,’ उहाँले भन्नुभयो,‘ फेवा ड्याम र ढल निकासका विषयमा हामी सम्बन्धित निकायहरूसँग निरन्तर संवादमा छौँ,साझेदारीमार्फत् यसको स्थायी समाधान खोज्न वडा कार्यालय प्रतिबद्ध छ ।’
वडा कार्यालयका सचिव सुरेन्द्रप्रसाद शर्माले सेवाग्राहीलाई सहज र छिटोछरितो सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

उहाँले चालु आर्थिक वर्षको कार्य प्रगति विवरण प्रस्तुत गर्नुहुँदै वडाबासीका गुनासा र सुझावहरूलाई आत्मसात गर्दै आगामी दिनमा प्रशासनिक सेवालाई थप प्रविधिमैत्री, पारदर्शी र जनमुखी बनाइने उल्लेख गर्नुभयो । कार्यक्रममा वडा सदस्य विक्रम गुरुङले वडा कार्यालयले गरेका काम, विकास निर्माणको साथै सेवा बारे वडाबासीलाई सूचित गर्न र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सार्वजनिक सुनुवाइ गरिएको बताउनु्भयो ।

 

कार्यक्रममा वडाका जनप्रतिनिधि, स्थानीय संघसंस्थाका प्रतिनिधि, टोलविकास संस्थाका अध्यक्षहरु, आमा समूह लगायत वडाबासीहरुको बाग्लो उपस्थिति रहेको थियो । वडा अध्यक्ष शाहीको अध्यक्षतामा भएको कार्यक्रमलाई पोखरा टेलिभिजनले सहजीकरण गरेको थियो ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...