पोखरा । कास्कीमा ब्रोइलर कुखुरा पालन गर्ने किसानहरुको आइतबार भएको एक भेलाले पोखरा–२५ हेमजाका ईश्वर सापकोटाको अध्यक्षमा कास्की जिल्ला ब्रोइलर किसान संघ गठन गरेको छ ।

उक्त तदर्थ समितिको उपाध्यक्षमा चिरञ्जीवी ढु·ाना, सचिवमा प्रेम जोशी, सह सचिवमा बसुन्धरा लम्साल, कोषाध्यक्षमा प्रकाश थापा तथा सदस्यहरुमा निराज बराल क्षेत्री, गणेश गौतम, दुर्गा सुनार, सुशिल भण्डारी, लिलाधर पौडेल र धु्रवराज गौतम रहेका छन् ।
ब्रोइलर कुखुरा किसानहरूले भोग्दै आएका विभिन्न समस्या समाधानका लागि नयाँ समिति गठन गरिएको छ। किसानको हकहित संरक्षण गर्दै कुखुरा व्यवसायलाई व्यवस्थित, व्यावसायिक र दिगो बनाउने उद्देश्यले समिति गठन गरिएको तदर्थ समितिका अध्यक्ष सापकोटाले जानकारी दिए ।
ब्रोइलर कुखुरा किसानहरूले पछिल्लो समय दाना तथा चल्लाको बढ्दो मूल्य, औषधि तथा अन्य उत्पादन लागतमा वृद्धि, बजारमा कुखुराको मूल्यमा हुने उतारचढाव, बिचौलियाको प्रभाव, रोगको जोखिम तथा उत्पादित कुखुराले उचित मूल्य नपाउने जस्ता समस्या समाधान गर्न समिति गठन गरिएको उनले जानकारी दिए । उत्पादन लागत बढ्दै जाने तर बजार मूल्य स्थिर वा घट्ने अवस्थाले किसानहरूलाई आर्थिक रूपमा ठूलो दबाब परेको बताउँदै उनले यो समस्या हलका लागि किसानहरु एक जुट हुनु पर्ने उल्लेख गरे ।
नवनिर्वाचित समितिले किसानका यस्ता समस्या सामूहिक रूपमा उठाउने, सम्बन्धित निकाय तथा सरोकारवालासँग समन्वय गर्ने र किसानले उत्पादन गरेको कुखुराको उचित तथा स्थिर बजार मूल्य सुनिश्चित गर्न पहल गर्ने जनाएको छ। साथै दाना, चल्ला र औषधिको मूल्य तथा गुणस्तरमा देखिएका समस्या, रोग नियन्त्रण, बजार व्यवस्थापन र किसानलाई आवश्यक प्राविधिक सहयोगका विषयमा पनि समितिले आवाज उठाउने छ।
कुखुरा किसानहरूको समस्या समाधानका लागि स्थानीय सरकार, कृषि तथा पशुपन्छीसम्बन्धी कार्यालय, व्यवसायी र किसानबीच प्रभावकारी समन्वय आवश्यक रहेको समितिको धारणा छ। नयाँ समितिले किसानलाई एकताबद्ध गर्दै ब्रोइलर कुखुरा व्यवसायलाई सुरक्षित र लाभदायक बनाउन पहल गर्ने बताइएको छ।
नयाँ समितिले किसानका वास्तविक समस्या संकलन गरी प्राथमिकताका आधारमा समाधानका लागि सम्बन्धित निकायसमक्ष पहल गर्ने तयारी गरेको छ।
