संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्र प्रहरीका एआईजी दाहाल निलम्बित

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई निलम्बन गरेको छ।
सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी पदीय आचरणविपरीत कार्य गरेको आरोपमा सशस्त्र प्रहरी बल, नेपालबाट कारबाहीका लागि सिफारिस प्राप्त भएपछि गृह मन्त्रालयले दाहाललाई निलम्बन गरेको हो।


मन्त्रालयका अनुसार उक्त आरोपमाथि जाँचबुझ गर्न २०८३ असोज १९ गतेको निर्णयअनुसार दाहाललाई निलम्बन गरी तीन दिनभित्र जाँचबुझ सम्पन्न गरेर मन्त्रालयमा प्रतिवेदन पेस गर्न जाँचबुझ अधिकृत तोकिएको छ।

 

गृह मन्त्रालयले निजामती तथा सुरक्षा निकायका कर्मचारीले आफ्नो पद र सेवाअनुसारको आचरण पालना गर्नुपर्ने तथा सुरक्षासँग सम्बन्धित संवेदनशील सूचनाको संरक्षण र गोपनीयता कायम गर्नुपर्ने कानुनी व्यवस्था रहेको जनाएको छ।

 

मन्त्रालयले गृह मन्त्रालय मातहतका कर्मचारीबाट हुने पदीय आचरणविपरीतका कार्य, संवेदनशील तथा गोप्य सूचनाको चुहावट र शान्ति सुरक्षामा प्रतिकूल असर पार्ने गतिविधिमाथि सूक्ष्म निगरानी तथा विश्लेषण भइरहेको जनाएको छ।
कानुनविपरीत हुने कुनै पनि गतिविधि वा घटनामा संलग्न जोसुकैलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने गृह मन्त्रालयले स्पष्ट पारेको छ।

मन्त्रालयले विधिको शासन, कानुनको परिपालना तथा सार्वजनिक शान्ति सुरक्षाको संरक्षणप्रति प्रतिबद्ध रहेको जनाएको छ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले सोमबार विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन्।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...