एकराज गिरी/पोखरा । पोखरा महानगरपालिका–३०, खुदी क्षेत्रमा सञ्चालित छमध्ये चारवटा छात्रा होस्टल विना दर्ता सञ्चालनमा रहेको पाइएको छ। ‘हेलो सरकार’मा परेको उजुरीका आधारमा पोखरा महानगरपालिकाले मंगलबार गरेको अनुगमनका क्रममा यस्तो तथ्य बाहिर आएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले खुदीस्थित एक होस्टलमा विद्यार्थीलाई गुणस्तरहीन खाना खुवाइएको भन्दै परेको उजुरीमाथि छानबिन गरी सत्यतथ्य जानकारी गराउन पोखरा महानगरपालिकालाई पत्राचार गरेको थियो। त्यसपछि महानगरपालिकाका उपप्रमुख एवं अनुगमन समिति संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा टोलीले खुदी क्षेत्रमा सञ्चालित छात्रा होस्टलको अनुगमन गरेको हो।

अनुगमनका क्रममा ६ वटा होस्टलमध्ये दुईवटा मात्रै सम्बन्धित वडा कार्यालयमा दर्ता भएको र चारवटा विना दर्ता सञ्चालनमा रहेको पाइएको महानगरपालिका सहकारी तथा उद्योग शाखाका अधिकृत कल्पना बरालले जानकारी दिनुभयो।

उहाँका अनुसार विना दर्ता सञ्चालनमा रहेका होस्टलमा दर्तासम्बन्धी समस्या देखिए पनि अन्य गम्भीर समस्या फेला परेको छैन। केही होस्टलमा सरसफाइमा पर्याप्त ध्यान नदिएको पाइएपछि आवश्यक सुधार गर्न निर्देशन दिइएको उहाँले बताउनुभयो।

अनुगमनका क्रममा लोटस होस्टलमा म्याद गुज्रिएका खाद्य सामग्रीसमेत फेला परेका थिए। ती सामग्री तत्काल नष्ट गरिएको र आगामी दिनमा म्याद गुज्रिएका खाद्य सामग्री भेटिए कानुनबमोजिम कारबाही गरिने भन्दै सञ्चालकलाई सचेत गराइएको बरालले बताउनुभयो।
लोटस होस्टलबाट दुई प्याकेट पास्ता, एक प्याकेट मिश्र, एक पोका पानीपुरी र एक प्याकेट मुरेला नष्ट गरिएको हो।
“अनुगमनका क्रममा दर्ता नगरी होस्टल सञ्चालन गरेको र सरसफाइमा पर्याप्त ध्यान नदिएको पाइयो। हामीले आवश्यक सुधार गर्न सुझाव दिएका छौँ,” बरालले भन्नुभयो।
खुदी क्षेत्रमा पोखरा विश्वविद्यालय रहेकाले अध्ययनका लागि देशका विभिन्न जिल्लाबाट विद्यार्थी आउने गरेका छन्। विद्यार्थीको बसोबासलाई लक्षित गरी त्यस क्षेत्रमा ठूलो संख्यामा छात्रा होस्टल सञ्चालनमा छन्। तर कतिपय होस्टलमा नाम तथा परिचय खुल्ने बोर्डसमेत नराखिएको पाइएको उपप्रमुख गुरुङले बताउनुभयो।
होस्टलको बोर्ड नहुँदा अनुगमन तथा पहिचान गर्नसमेत समस्या हुने गरेको उहाँको भनाइ छ। विद्यार्थीलाई होस्टलसम्म पुर्याउन कतिपय सञ्चालकले पोखरा विश्वविद्यालय आसपासमा सम्पर्क नम्बर टाँस्ने गरेको विद्यार्थीहरूले बताएका छन्।
खुदीस्थित एक होस्टलमा बस्दै आएकी छात्राले ‘हेलो सरकार’मा गरेको उजुरीमा विद्यार्थीलाई कुहिएको तथा किरा परेको खाना खुवाउने गरेको, होस्टल दर्ताबिना सञ्चालन गरिएको तथा गुनासो गरेपछि विद्यार्थीलाई दबाब दिने गरेको आरोप लगाइएको थियो। उजुरीसँगै खानाको तस्बिरसमेत पेस गरिएको थियो।
उजुरीपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आएको पत्रका आधारमा गरिएको अनुगमनमा उक्त आरोपसँग सम्बन्धित थप तथ्यबारे आवश्यक अनुगमन तथा छानबिन गरिने महानगरपालिकाले जनाएको छ।
यसैबीच पोखराको सृजनाचोकस्थित मेट्रोसिटी अस्पतालको क्यान्टिनमा समेत अनुगमन गरिएको छ। अनुगमनका क्रममा क्यान्टिनमा राखिएको चामलमा धुन र भान्सामा फोहोर भेटिएको थियो। अनुगमन टोलीले क्यान्टिन सञ्चालकलाई सरसफाइ तथा खाद्य सामग्रीको भण्डारणमा सुधार गर्न सुझाव दिएको छ।
अनुगमन टोलीमा उपप्रमुख गुरुङसहित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयकी सबिना सुनार, पोखरा महानगरपालिका उपभोक्ता मञ्चका महेश बराल, पत्रकार कमल पौडेल, धनबहादुर गुरुङलगायत सहभागी थिए।
महानगरपालिकाले विद्यार्थीको बसोबाससँग प्रत्यक्ष जोडिएका होस्टललाई कानुनी दायरामा ल्याउनुका साथै खाद्य सामग्रीको गुणस्तर, सरसफाइ र विद्यार्थीको सुरक्षामा विशेष ध्यान दिनुपर्नेमा जोड दिएको छ।
