पाेखरा,असाेज ।पोखराको सिर्जनाचोकस्थित मेट्रोसिटी अस्पतालको क्यान्टिनमा चामलमा घुन, सडेका तरकारी तथा फोहोर भेटिएको छ। पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा आज गरिएको अनुगमनका क्रममा क्यान्टिनको भान्सामा सरसफाइको अवस्था कमजोर रहेको पाइएको हो।

अनुगमनका क्रममा चामलमा घुन भेटिनुका साथै सागलगायतका तरकारी सडेको, खाना नछोपी राखिएको र क्यान्टिन तथा भान्सामा अत्यधिक फोहोर रहेको पाइएको थियो।
केही दिनअघि क्यान्टिनको अवस्थाबारे ‘हेलो सरकार’मा उजुरी परेको थियो। उजुरीमा अण्डाको क्रेटमाथि खानेकुरा राखिएको तथा भान्साको सरसफाइमा लापरबाही गरिएको गुनासो गरिएको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अनुगमनका लागि पत्र आएपछि महानगरपालिकाले अनुगमन गरेको हो।
मेट्रोसिटी अस्पतालको क्यान्टिन ‘बिराज मेट्रो खाजा घर’का नाममा सञ्चालनमा रहेको छ। अस्पतालमा उपचारका लागि आउने सर्वसाधारणले खाना खाने स्थानमै खाद्य सामग्रीको भण्डारण र सरसफाइमा लापरबाही भएको अनुगमनका क्रममा भेटिएको हो।
महानगर उद्योग शाखाकी अधिकृत कल्पना बरालले क्यान्टिन सञ्चालकलाई सरसफाइमा विशेष ध्यान दिन र खाद्य सामग्री सुरक्षित तथा व्यवस्थित रूपमा भण्डारण गर्न आग्रह गरिएको बताउनुभयो।
“पहिलो पटक भएकाले सचेत गराइएको छ। अब फेरि अनुगमन गर्दा पनि सुधार नभएको पाइएमा कारबाही गरिनेछ,” बरालले भन्नुभयो।
अनुगमन टोलीमा पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङ, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयकी सबिना सुनार, पोखरा महानगरपालिका उपभोक्ता मञ्चका महेश बराल, पत्रकार कमल पौडेल, धनबहादुर गुरुङलगायत सहभागी थिए।
