बिन्ध्यवासिनीमा नवदुर्गा महोत्सव, धार्मिक पर्यटनसँग जोड्ने तयारी

एकराज गिरी/पोखरा । पोखराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बिन्ध्यवासिनी मन्दिरमा यस वर्ष पनि नवदुर्गा महोत्सव आयोजना हुने भएको छ। बिन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले महोत्सवलाई सभ्य, भव्य, सुरक्षित, व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्दै धार्मिक पर्यटनसँग जोड्ने तयारी गरेको जनाएको छ।

समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले बिहीबार पत्रकार भेटघाट आयोजना गरी बिन्ध्यवासिनीको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्वलाई थप उजागर गर्दै यस क्षेत्रलाई धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने उद्देश्य रहेको बताए।

 

उनका अनुसार बिन्ध्यवासिनी पोखराको धार्मिक आस्थाको केन्द्र मात्र नभई गलेश्वर–मुक्तिनाथ जाने धार्मिक यात्राको मुख्य प्रवेशद्वारसमेत हो। त्यसैले बिन्ध्यवासिनीको संरक्षण र विकासलाई पोखराको समग्र पर्यटनसँग जोडेर अघि बढाउन आवश्यक रहेको उनले बताए।

 

समितिले सम्पदा संरक्षणलाई ढुंगा–माटोको संरक्षणमा मात्र सीमित नगरी त्यससँग जोडिएको इतिहास, संस्कृति, परम्परा, आस्था र सामाजिक भावनाको संरक्षणका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएको छ। यसका लागि प्रदेश सरकार, स्थानीय सरकार, सरकारी कार्यालय, सुरक्षा निकाय, धार्मिक तथा सांस्कृतिक संघसंस्था, निजी क्षेत्र र स्थानीय समुदायबीच सहकार्य आवश्यक रहेको समितिको भनाइ छ।

 

कास्कीका अन्तिम राजा सिद्धिनारायण शाहको पालामा करिब अढाई शताब्दीअघि स्थापना भएको मानिने बिन्ध्यवासिनी मन्दिर कास्कीको इतिहास, धर्म, संस्कृति र आस्थासँग जोडिएको महत्वपूर्ण धार्मिक सम्पदा हो। जनश्रुतिअनुसार राजा सिद्धिनारायण शाहले भारतको विन्ध्याचलबाट देवीको प्रतिमा ल्याएर यहाँ स्थापना गरेपछि यो स्थान बिन्ध्यवासिनी माताको पवित्र धामका रूपमा विकसित भएको हो।

 

वि.सं. २०४३ सालमा बिन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति गठन भएपछि मन्दिर तथा धार्मिक क्षेत्रको संरक्षण, विकास, व्यवस्थापन र सौन्दर्यीकरणका साथै सामाजिक, धार्मिक तथा आध्यात्मिक गतिविधि सञ्चालन हुँदै आएका छन्।

 

मन्दिर परिसरमा बिन्ध्यवासिनी माताको मुख्य मन्दिरसँगै गणेश, हनुमान, राधाकृष्ण, शिव, सरस्वती, अष्टचिरञ्जीवी र नवग्रहका मन्दिर छन्। गुरुकुल, सन्तनिवास, सभाभवन, बिन्ध्यवासिनी वाटिका, फाउन्टेन र शिवानन्द कुण्डलगायतका संरचनाले धार्मिक क्षेत्रको आकर्षण बढाएका छन्। हाल शनिदेवको मन्दिर निर्माणको कामसमेत अघि बढिरहेको समितिले जनाएको छ।

 

समितिले अशक्त, अपाङ्गता भएका तथा फरक क्षमता भएका भक्तजनका लागि लिफ्ट सेवासमेत सञ्चालनमा ल्याएको जनाएको छ। त्यस्तै, गुरुकुल विद्याश्रम, प्राकृतिक चिकित्सा केन्द्र र ज्येष्ठ नागरिक मिलन केन्द्र सञ्चालन गर्दै धर्मसँगै शिक्षा, स्वास्थ्य र समाजसेवालाई जोडिएको अध्यक्ष श्रेष्ठले बताए।

२०६४ सालदेखि नवदुर्गा महोत्सव

बिन्ध्यवासिनी मन्दिरमा वि.सं. २०६४ सालदेखि निरन्तर आयोजना हुँदै आएको नवदुर्गा महोत्सव यस वर्ष पनि विविध कार्यक्रमसहित सञ्चालन गरिनेछ। महोत्सवले धर्म, संस्कृति, परम्परा, कला, भजन, धार्मिक संघसंस्था, विद्यालय, युवा, महिला, स्वयंसेवक तथा धार्मिक पर्यटनलाई जोड्ने समितिको विश्वास छ।

 

महोत्सवको अर्को उद्देश्य नयाँ पुस्तालाई आफ्नो धर्म, संस्कृति, संस्कार र परम्परासँग परिचित गराउनु रहेको समितिले जनाएको छ। परम्परा पुस्तकमा मात्र सीमित नराखी नयाँ पुस्तालाई सहभागी गराएर यसको निरन्तरता सुनिश्चित गर्नुपर्ने समितिको भनाइ छ।

 

महोत्सवका मुख्य कार्यक्रमअन्तर्गत बिन्ध्यवासिनी नवदुर्गा शोभायात्रा र श्रीमद् देवीभागवत ज्ञान महायज्ञ आयोजना गरिनेछ। घटस्थापनादेखि महानवमीसम्म सञ्चालन हुने महायज्ञमा कथा वाचकका रूपमा स्वामी निर्भयानन्द गुरुज्यू र उपवाचकका रूपमा अनुकूल ढकाल रहनेछन्।

 

महानवमीका दिन बिहान ७ बजे बिन्ध्यवासिनी पार्कबाट नवदुर्गा शोभायात्रा सुरु हुनेछ। शोभायात्रा मोटरगेट, भैरवटोल, भीमसेनटोल, नालामुख, तेर्सापट्टी, पालिखेचोक, महेन्द्रपुल, चिप्लेढुंगा, सिद्धार्थचोक, रामकृष्णटोल, गणेशटोल, नालामुख र भैरवटोल हुँदै बिन्ध्यवासिनी मन्दिर परिसरमा पुगेर सम्पन्न हुनेछ।

 

महायज्ञ अवधिमा बिहान ९ बजेदेखि १२ बजेसम्म संगीतमय कथा प्रवचन, दिउँसो १२ बजेदेखि २ बजेसम्म भजन–कीर्तन र दिउँसो २ बजेदेखि ४ बजेसम्म संगीतमय कथा प्रवचन हुनेछ। प्रत्येक दिन साँझ ६ बजे महाआरती आयोजना गरिनेछ।

 

विजयादशमीको अवधिभर मन्दिरमा बिहान ४ बजेदेखि नित्य पूजा सुरु हुने र भक्तजनका लागि बिहान ५ बजेदेखि मन्दिर खुला गरिने समितिले जनाएको छ।

 

महोत्सवमा ठूलो संख्यामा भक्तजन तथा श्रद्धालु आउने भएकाले सुरक्षा, यातायात व्यवस्थापन, स्वास्थ्य सेवा, सरसफाइ, खानेपानी, विद्युत्, विपद् तथा भीड व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय गरिने समितिका महासचिव सुशीला बराल पराजुलीले बताइन्।

 

पत्रकार भेटघाटमा समितिले सञ्चारमाध्यमको सुझाव, मार्गदर्शन र सहयोगबाट महोत्सवलाई थप व्यवस्थित र सफल बनाउन सहयोग पुग्ने अपेक्षा व्यक्त गरेको थियो। समितिले सबैको सहयोग र सहकार्यमा यस वर्षको नवदुर्गा महोत्सव शान्तिपूर्ण, सुरक्षित, सभ्य, भव्य र मर्यादित रूपमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...