पोखरा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) पोखरा महानगरपालिका–५ वडा कमिटीले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ।

रवीन्द्र स्मृति बाटिकामा आयोजित कार्यक्रममा एमाले नेता राजीव पहारीले नेपाली समाजका मौलिक चाडपर्वले आपसी सद्भाव, भाइचारा, सामाजिक एकता र आत्मीयता सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

कार्यक्रममा एमाले गण्डकी प्रदेश कमिटी सदस्य अञ्जु केसी, एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्री, पोखरा महानगर कमिटी अध्यक्ष जीवन आचार्य र वडा कमिटी–५ का इन्चार्ज उज्ज्वल खत्रीलगायतले चाडपर्वको शुभकामना व्यक्त गरेका थिए। उनीहरूले सबै नेपालीको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गरे।
कार्यक्रमको अध्यक्षता गरेका वडा कमिटी अध्यक्ष लक्ष्मण बरालले चाडपर्व नेपाली समाजको मौलिक संस्कृति, परम्परा र सामाजिक एकताका महत्त्वपूर्ण आधार भएको बताए। यस्ता पर्वले सबै नेपालीबीच आपसी सद्भाव, सहकार्य र एकताको भावना थप बलियो बनाउने विश्वास उनले व्यक्त गरे।
कार्यक्रममा स्थानीय कार्यकर्ता, वडा कमिटीका पदाधिकारी तथा सदस्य, पार्टीका शुभेच्छुक, स्थानीय बासिन्दा र विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो। सहभागीहरूले एकअर्कालाई चाडपर्वको शुभकामना आदानप्रदान गरेका थिए।
कार्यक्रममा वडा कमिटीका उपाध्यक्ष पानप्रसाद तिमिल्सिनाले स्वागत मन्तव्य राखेका थिए भने सचिव वसन्तराज गौतमले कार्यक्रम सञ्चालन गरेका थिए।
