पोखरा । कास्की प्रहरीले पोखरामा चोरी भएको मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ।

असोज ३० गते राति करिब १० बजे पोखरा महानगरपालिका–१६, सीतापाइलाबाट ग १९ प १०९१ नम्बरको मोटरसाइकल हराएको सूचना प्राप्त भएपछि प्रहरीले खोजतलास सुरु गरेको थियो।
खोजतलासका क्रममा प्रहरी चौकी छोरेपाटनबाट खटिएको टोलीले सोही राति करिब ११ बजे पोखरा महानगरपालिका–१७, सिमलटुडामा उक्त मोटरसाइकल फेला पारेको हो।
प्रहरीले मोटरसाइकल चलाइरहेका पोखरा महानगरपालिका–७, मासबार निवासी ३१ वर्षीय सागर गुरुङ र मोटरसाइकलको पछाडि सवार लमजुङको बेँसीसहर नगरपालिका–७, मिलनचोक स्थायी घर भई हाल पोखरा महानगरपालिका–९, पृथ्वीचोक बस्ने २५ वर्षीय किरण ठकुरीलाई नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेका दुवै जनामाथि चोरीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
