२६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

पोखरा — नेपाली फुटबलको प्रतिष्ठित प्रतियोगिता आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण आगामी माघ ५ देखि १६ गतेसम्म सञ्चालन हुने भएको छ। आयोजक सहारा क्लब पोखराले प्रेस विज्ञप्तिमार्फत प्रतियोगिताको मिति सार्वजनिक गरेको हो।

‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रूपमा स्थापित गरौँ’ भन्ने नारासहित सञ्चालन हुँदै आएको प्रतियोगिता पोखराको फुटबल विकास, खेलकुद प्रवर्द्धन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नेपाली फुटबलको पहिचान अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिँदै आएको छ।

 

हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा सञ्चालन हुने प्रतियोगितालाई पोखरा महानगरपालिकाको संरक्षकत्व रहेको छ। प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद्, गण्डकी प्रदेश खेलकुद परिषद्, अखिल नेपाल फुटबल संघ, नेपाल पर्यटन बोर्ड, कास्की जिल्ला खेलकुद विकास समिति, कास्की जिल्ला फुटबल संघलगायत विभिन्न संघसंस्था तथा सहयोगीहरूको साथ रहँदै आएको छ।

 

त्यसैगरी लुम्बिनी विकास बैंक, नमस्ते एजुकेशन कन्सल्टेन्सी, बुद्ध एयर, सहारा क्लबका बेलायत, हङकङ र अस्ट्रेलियास्थित शाखा तथा समाजसेवी, लोकदोहोरी गायक एवं कानुन व्यवसायी देव गुरुङ (हङकङ) लगायतले प्रतियोगितालाई सहयोग गर्दै आएका छन्। सर्वोत्कृष्ट राष्ट्रिय वर्ष खेलाडी पुरस्कारका लागि क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङले प्रायोजन गर्दै आएका छन्।

 

प्रतियोगिताले प्रतिभाशाली खेलाडीलाई आफ्नो खेल कौशल प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै पोखरालाई खेलकुद पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न योगदान पुर्‍याउँदै आएको आयोजकले जनाएको छ।

 

प्रतियोगितामा सहभागी हुने टोली, खेल तालिका, पुरस्कार राशि, प्रायोजक तथा अन्य आवश्यक विवरण पछि सार्वजनिक गरिने क्लबले जनाएको छ। प्रतियोगितालाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न आवश्यक तयारीसमेत अघि बढाइने विज्ञप्तिमा उल्लेख छ।

 

‘नेपाली फुटबलको विकास र पोखराको गौरवका लागि हाम्रो साझा अभियान’ भन्ने सन्देशसहित आयोजना हुने २६औँ संस्करणलाई सफल बनाउन सहारा क्लब पोखराले मुख्य प्रायोजक, सहप्रायोजक, सहयोगी संघसंस्था, खेलप्रेमी, सञ्चारकर्मी, दर्शक तथा सम्पूर्ण शुभेच्छुकलाई सहयोग, सद्भाव र सहभागिताका लागि आग्रह गरेको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...