पोखरामा सालनालसहित नवजात शिशुको शव फेला, आमा पक्राउ

पोखरा, ११ कात्तिक। पोखराको लेकसाइडमा सालनालसहित नवजात शिशुको शव फेला परेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १९ वर्षीया महिलालाई पक्राउ गरेको छ।


जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार कात्तिक ३ गते साँझ करिब ७ः४० बजे पोखरा महानगरपालिका–६, लेकसाइडस्थित स्ट्रीट नम्बर ८ को भित्री गल्लीमा रहेको टहराको शौचालयको बाहिरी च्याम्बरभित्र सालनालसहित नवजात शिशुको शव फेला परेको थियो। शिशु पुरुष रहेको प्रहरीले जनाएको छ।

शौचालयमा पानी बाहिर ननिस्किएपछि घरधनीले बाहिर रहेको च्याम्बर खोलेर हेर्दा नवजात शिशु मृत अवस्थामा फेला परेका थिए। घटनाको सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले स्थानीय जनप्रतिनिधिको रोहवरमा घटनास्थलको मुचुल्का तयार गरी शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाएको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थायी घर भई हाल पोखरा–६, लेकसाइडमा डेरामा बस्दै आएकी १९ वर्षीया निरुता नेपालीको संलग्नता खुलेको प्रहरीले जनाएको छ। उनको माइती पोखरा महानगरपालिका–२१, कृष्तीमा रहेको बताइएको छ।

खोजतलासका क्रममा प्रहरीले कात्तिक ४ गते राति १ः१५ बजे पोखरा महानगरपालिका–२१, लुकुन्स्वाराबाट नेपालीलाई पक्राउ गरेको हो। पक्राउपछि उनको स्वास्थ्य परीक्षण गराई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार निरुता नेपाली र स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ का राजन सार्कीबीच २०७८ सालमा सामाजिक परम्पराअनुसार विवाह भएको थियो। उनीहरूबीच सम्बन्ध बिग्रिएपछि २०८२ साल माघदेखि छुट्टाछुट्टै बस्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

राजन सार्कीले प्रहरीलाई दिएको जानकारीअनुसार निरुता लेकसाइडमा एक्लै डेरामा बस्दै आएकी थिइन्। उनले फोन गर्दा बच्चा फालिसकेको बताएको पनि अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ।

घटनालाई कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। कास्की जिल्ला अदालतबाट कात्तिक ४ गतेदेखि लागू हुने गरी १० दिनको म्याद थप गरी उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...