पोखरा, माघ १७ गते । मोफसलको प्रतिष्ठित आहा रारा गोल्डकप फुटलब प्रतियोगिताको १९ औ संस्करण चैत तेश्रो साताबाट हुने भएको छ । आयोजक सहारा क्लब पोखराले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता चैत १७ देखि २८ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो । कोरोना भाइरस संक्रमणका कारण प्रतियोगिता हुने नहुने अन्यौल रहेकै बेला अखिल नेपाल फुटबल संघ(एन्फा)ले प्रतियोगिताका लागि मिति तोकेपछि आयोजक सहाराले तयारी सुरु गदै पत्रकार सम्मेलन गरेको क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिनुभयो ।
क्रिकेट लगायतका खेलकुद प्रतियोगिता सञ्चालन भएकाले हामीले पनि गोल्डकप आयोजनाका लागि एन्फासंग डेट माग गरेका थियौ अध्यक्ष थापाले भन्नुभयो,‘ हाम्रो माग अनुसार एन्फाले चैत १७ देखि २८ सम्मको मिति उपलब्ध गराउदै पत्र पठाएपछि आज पत्रकार सम्मेलन गरेका हौ । आहा रारा गोल्डकप आयोजना हुन्छ ।’ खेलकुदको विकासमा सहाकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं भन्ने नारा सहित आयोजना हुने प्रतियोगितामा विदेशी क्लब, ए डिभिजनका क्लब, मोफसलका टिम र आयोजक सहरा क्लब पोखरा गरी १२ टिमको सहभागिता रहने क्लबले जानकारी दिएको छ ।
पोखरा रंगशालाको फुटबल मैदानमा आयोजना हुने प्रतियोगितामा विदेशी सहित १२ टिमले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएपनि कोरोना संक्रमणका कारण विदेशी टिम आउने नआउने बारे अन्यौल रहेको छ । विदेशी टिम ल्याउने बारेमा हाम्रो प्रयास हुन्छ तर अहिल्यै आउने बारेमा भन्न सक्दैनौ अध्यक्ष थापाले भन्नुभयो,‘प्रतियोगिता सञ्चालन गर्ने बेलासम्म समय प्रतिकुल वा अनुकुल के हुन्छ । त्यही अनुसार हुन्छ ।’
पत्रकार सम्मेलनमा बोल्दै राष्टिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले फुटल खेलका माध्यबाट सहारा क्लबले पोखरा चिनाउन महत्त्वपूर्ण भुमिका निर्वाह गरेको बताउदै प्रतियोगिताका लागि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । प्रतियोगिता १ करोड १ लाख ८१ हजार रुपैयाँ खर्च हुने र १ करोड ३० लाख आम्दानी हुन अनुमान गरिएको महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिनुभयो । क्याराभान गोल्ड कप सहित २० वर्षदेखि सहारा क्लबले पोखरामा फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ।