पोखरा, फागुन २२, भाषा संघ नेपाल (ल्यान)को आयोजनामा संचालन भएको रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलत भएको छ । शनिबार संघद्धारा आयोजित रक्तदान कार्यक्रममा उक्त मात्रामा रगत संकलन भएको हो ।
भाषा संघ नेपालका अध्यक्ष प्रकाश कुमार श्रेष्ठले कोरोना महामारीका कारण कास्कीमा देखा परेको रगत अभावलाई परिपूर्ति गर्न रक्तदान कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘हामी जापानीज् भाषा क्षेत्रसँग सम्बन्धित रहेको संघले कार्यक्रम सहित केही मानवीय सेवामूलक कार्यक्रम गर्न चाहेका थियौँ, कोरोना भाईरसका कारणले केही समयको अन्तराल पछि दोस्रो पटक रक्तदान कार्यक्रम आयोजना गरेका हौँ ।’
संघका महासचिव मोती श्रेष्ठले कोरोना भाईरसको कारणले रगतको अभावलाई केही हदसम्म भएपनि कम गर्नको साथै जापान र नेपाल बिचको संस्कृति समेत आदानप्रदान गर्नका निम्ति कार्यक्रको आयोजना गरिएको जानकारी दिनुभयो ।
भाषा संघ नेपालका निर्वतमान अध्यक्ष युवराज खनालले संघको पछिल्लो गतिविधि प्रशंसनीय रहेको उल्लेख गर्नुभयो । महामारीका समयमा सामाजिक सेवामा तल्लिन हुनुले संस्थाको समाजप्रतिको दायित्वलाई दर्शाइएको उहाँको बुझाई थियो ।
कार्यक्रममा भाषा संघ नेपाल (ल्यान)का कार्यसमिति सदस्यहरु सहित संघमा आबद्ध करिब एक सय जनाको सहभागिता रहेको थियो जसमा ३५ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक पूर्णचन्द्र न्यौपानेले बताउनुभयो ।