प्रधानमन्त्री पदले कांग्रेसको ढोका ढक्ढक्याए पनि झ्यालबाट हेर्दै छौँ : प्रवक्ता शर्मा

काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री पदले कांग्रेसका ढोका ढकढक्याए पनि पार्टी छलफलमै रहेको जानकारी दिएका छन्।

सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्डमा बसिरहेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा छलफल जारी रहे पनि अहिलेसम्म कुनै निर्णय नभएको बताएको शर्माले जानकारी दिएका हुन्।

राजनीतिक रुपमा विभाजित सत्तारुढ नेकपाको दुवै समूहले कांग्रेसलाई प्रधानमन्त्री प्रस्ताव गरिरहेको जानकारी दिँदै पार्टीले सोची विचार गरी निर्णय लिने जानकारी दिएका हुन्।

उनले भने, ‘ नेकपाका दुई समूह, सञ्चार माध्यम र आम सर्वधारणले प्रतिनिधिसभा पुनःस्थापनछि कांग्रेसलाई हेरिरहेका छन्। प्रधानमन्त्री पदले कांग्रेसको ढोका ढकढक्याइ रहेको छ। तर कांग्रेसले ढोका खोलेर स्वागत गरिसकेको छैन। अहिले झ्यालबाट मात्रै हेरिरहेका छौँ।’

सभापति कांग्रेस नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षसँग मिलेर सरकार बनाउन तयार भए पनि उक्त समूहको औपचारिक लिखित प्रस्तावको पर्खाइमा रहेको नेताहरुले बताएका छन्।

बैठकमा भावी सरकार गठन, त्यसको कांग्रेसको भूमिका र नेकपा विभाजनका आयामबारे छलफल चलिरहेको सहभागी अर्का एक नेताले जानकारी दिए। बुधबार महामन्त्री शशांक कोइरालाले नेकपाको दाहाल नेपालसँग मिलेर सत्ता सहकार्य गर्नुपर्ने सार्वजनिक रुपमै बताएपछि कांग्रेसभित्र सरकारमा जाने विषयमा देखिएको मतभेद अन्त्य भएको छ।

पदाधिकारी बैठकले नेकपा विप्लव समूहसँग सरकारले एकलौटी रुपमा वार्ता र सहमति गरेको प्रति असन्तुष्टि जनाएको छ। प्रमुख प्रतिपक्षी दलको हैसियतले यस्तो गम्भीर विषयमा सरकारले जानकारी दिनुपर्ने भए पनि सञ्चार माध्यमबाटै थाहा पाउनु परेको शर्माले बताए।

उनले दश वर्षे माओवादी द्वन्द्वको समाधान गर्दा कांग्रेसले सबैलाई विश्वासमा लिएको स्मरण गर्दै अहिलेको सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाए।

प्रवक्ता शर्माले भने, ‘वार्ता गर्दा प्रमुख प्रतिपक्षी दललाई विश्वासमा लिन सकेन। जिम्मेवार ढंगले दश वर्षे द्वन्द्व समाधान गर्दा कांग्रेसले निर्वाह गरेको भूमिका जस्तो देखिएन। तीन बुँदेको विस्तृत आएपछि थप टिप्पणी हुन्छ।’

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...