नेपालमै मोबाइल निर्माण र एसेम्बल गरिने

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमै मोबाइल निर्माण गर्ने सम्भाव्यताको अध्ययन गर्ने भएको छ । त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ ।

प्राधिकरणका अनुसार मोबाइल उत्पादनको सम्भावना र रिफर्बिस गर्न सकिन्छ वा सकिँदैन भनेर अध्ययन गर्ने तयारी भएको हो । रिफर्बिस भनेकाे पुराना स्मार्टफोनलाई विभिन्न कम्पनीले प्रमाणीकरण गरेर पुनः नयाँ जस्तै बनाएर बजारमा बेच्ने कार्य हो ।

अध्ययनका लागि प्राधिकरणले टास्कफाेर्स (कार्यदल) नै गठन गरिसकेको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले बताए । टास्कफाेर्समा अर्थ मन्त्रालयका प्रतिनिधि, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधि, मोबाइल इम्पोटर्स अशोसियसनका प्रतिनिधि, स्वतन्त्र विज्ञ र प्राधिकरणका प्रतिनिधि रहेका छन् ।

यसबाट अन्तर्राष्ट्रिय अभ्यास, अहिलेको अवस्था, नेपाल सरकारको कर व्यवस्था लगायतका अन्य आवश्यक कागजातको अध्ययन गर्नेछ । साे अध्ययनका आधारमा के-के गर्न सकिन्छ भनेर प्रतिवेदन तयार पारिने अर्याल बताउँछन् ।

यसअघि प्राधिकरणले सरकारको ‘मेक इन नेपाल’ योजना अन्तर्गत नेपालमै मोबाइल सेट निर्माण गर्न सम्भाव्यता अध्ययन गर्न भन्दै २०७६ सालमा परामर्शदाता नियुक्त गरेकाे थियाे ।

परामर्शदाताको प्रतिवेदनमा करको विषय, प्रविधि तथा मापदण्ड पुरा गर्नुपर्ने लगायत विषय उठाएको थियो । उक्त अध्ययनले उठाएको पक्षलाई पनि सम्बोधन गर्ने गरी नयाँ कार्यदल गठन गरिएको प्रवक्ता अर्यालले बताए ।

हाल वर्षेनि २५ देखि ३० अर्बको मोबाइल आयात भइरहेको छ । यदि नेपालभित्रै एसेम्बल वा रिफर्बिस गर्ने सके त्यसको १० प्रतिशतमात्रै पनि बचत गर्न सकिने अपेक्षा प्राधिकरणको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...