पोखरा, चैत गते ।गुरुङ चलचित्र निर्माण हुन लागेको २५ वर्ष पुग्यो । यस अवसरमा गुरुङ चलचित्र क्षेत्रको विकास र समृद्धिमा टेवा पुर्याउने उद्देश्यले खोलिएको संस्था गुरुङ फिल्म एशोसियसन नेपाल जिफानले गुरुङ चलचित्रलाई अब हलमै प्रदर्शन गर्ने व्यवस्था मिलाएको छ ।
हिजो गुरुङ समुदायमा मात्रै केन्द्रित रहेको गुरुङ चलचित्रलाई अब आम नेपालीले हेर्न पाउने भएका छन् । पोखराको मिडटाउन सिनेमाजसँग जिफानको निरन्तर प्रदर्शनका विषयमा सहमति नै भएको छ । कोभिडले थला परेको चलचित्र क्षेत्रलाई विस्तारै माथि उकास्ने काम भाषाभाषीका चलचित्रले गरेको आभाष हुन्छ ।
मेनस्ट्रिमका सिनेमाहरु प्रदर्शन गर्न डराइरहेका बेला पोखराबाट बनेका गुरुङ चलचित्रहरु प्रदर्शन हुन थालेका छन् । केही समय अघि छायाँकन सकेर च्यारेटी गरिरहेको चलचित्र हो “शिरसुबा” । जसलाई यही चैत्र ६ गतेबाट आम दर्शकले मिडटाउन सिनेमाजमा हेर्न पाउने भएका छन् । चैत्र २ गते उक्त चलचित्रको विशेष शो सम्पन्न भएको छ । जसमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङको समेत विशेष उपस्थिति रहेको थियो ।
चलचित्रलाई हेर्दै अर्थमन्त्री गुरुङले शिरसुबा सामाजिक घटनामा यथार्थप्रदक चलचित्र भएको बताएका छन् । उनले चलचित्रले दुुई घण्टा बाँधेर राख्ने प्रतिक्रिया दिए । अबको चलचित्र सामाजिक घटनामा आधारित हुनुपर्ने उल्लेख गर्दै शिरसुबाले समाज परिवर्तनको बाटोलाई समेत अवलम्बन गरेको अभिव्यक्ति उनले दिए । उनले भने,“ गुरुङ चलचित्र हलमा प्रदर्शन हुँदा खुशी लागेको छ । हिजो समुदायमा मात्र सिमित रहेको गुरुङ चलचित्रलाई आज आम जनमानसले हेर्ने पाउनेछन् । यो राम्रो कुरा हो । गुरुङ समुदाय भित्रको कल्चरलाई प्रचारप्रसारमा चलचित्रका माध्यम टेवा पुग्ने विश्वास छ । भाषाभाषीका चलचित्रको उत्थानका लागि गण्डकी प्रदेश सँधै साथमा छ ।”
माओत्से गुरुङको निर्देशनमा निर्माण भएको चलचित्र शिरसुबामा नायक सुमित गुरुङ र नायिका प्रिती गुरुङको मुख्य अभिनय रहेको छ । पर्यटकीय गाउँ घान्द्रुक र हङकङका केही स्थानमा छायाँकन गरिएको चलचित्र शिरसुबाको विषयमा जानकारी गराउँदै माओत्से गुरुङले यसअघि सम्पन्न भएका च्यारेटी शो मार्फत राम्रो प्रतिक्रिया पाएको बताए । सिमित लगानीमा बनेको चलचित्रमा गुरुङ समुदायका कथाव्यथालाई उतार्न खोजिएको उनले जानकारी गराए ।
चलचित्र प्रेम कथामा आधारित छ । पढ्दै गरेको युवा पारिवारिक समस्याका कारण विदेशीनु पर्दाको पीडा र त्यसले प्रेममा पारेको प्रभावका विषयमा चलचित्र केन्द्रित भएको देखिन्छ । हाम्रै वरिपरिको समाजमा भएगरेका घटनालाई चलचित्रमा उठाउन खोजिएको निर्देशक गुरुङले बताए ।
गुरुङ भाषाभाषीका चलचित्र हलमा प्रदर्शन हुँदा खुशी देखिन्छन् । भन्छन्, “अहिले सम्म हाम्रो समुदायमा बन्दै गरेका चलचित्र केवल च्यारेटीमा मात्र सिमित थियो । अब हलमा समेत प्रदर्शन हुन थालेको छ । यो राम्रो पक्ष हो । जसले हाम्रो कामलाई मसिनो गरी केलाउन सक्ने वातावरणको सिर्जना गर्छ ।”
चलचित्र निर्देशक घनश्याम लामिछानेले शिरसुबा हर नेपालीको कथा भएको उल्लेख गरे । माओत्से गुरुङको निर्देशकिय पक्षमा उनले कतै खोट देखेका छैनन । विस्तारै अब प्राविधिक कुरामा समेत भाषाभाषीका चलचित्रले ध्यान दिनुपर्ने उनको सुझाव छ । चलचित्र हेर्दा आफु वा आफ्नो परिवारमा भएगरेका घटनाको सम्झना दिलाउने प्रतिक्रिया उनको छ ।
नायिका प्रिती गुरुङले माओत्से गुरुङको निर्देशनमा काम गर्दा सिक्ने वातावरणको सिर्जना भएको बताइन् । यो उनको दोस्रो चलचित्र हो । अहिले काठमाडौं बसेर अभिनय सम्बन्धी अध्ययन गरिरहेकी प्रिती आशावादी नायिका हुन् । उनले शिरसुवामा गरेको अभिनयलाई हलमा उपस्थित सबैले रुचाएका छन् । प्रितीले अभिनयका विषयमा आफुले चलचित्रबाट राम्रो प्रतिक्रिया पाएको बताइन् । आगामी समयमा पनि समाजमा पच्ने विषयवस्तुमा आफुले अभिनय गर्ने प्रतिबद्धता उनको छ ।
चलचित्रको विशेष शोमा गुरुङ फिल्म एशोसियसन नेपाल जिफानका अध्यक्ष भोजबहादुर गुरुङ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकीका अध्यक्ष सुरेन्द्र गुरुङ, गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङ, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, कलाकार, पत्रकार सहितको बाक्लो उपस्थिति रहेको थियो ।