
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजनमा वरिष्ठ नेता माधवकुमार नेपाललाई साथ दिने भएका छन् ।
हालसम्म माधव पक्षको बैठकमा नगएका वामदेवले यसअघि नै झलनाथ खनाल र नेपालले नयाँ पार्टी खोले आफूले साथ दिने बताएका थिए । आज माधव पक्षका केन्द्रीय सदस्य र सांसदहरूको छलफलमा वामदेवपत्नी तुलसा थापा सहभागी भएकी छिन् ।
समानुपातिक सांसद थापा यसअघि अध्यक्ष केपी शर्मा ओलीले बोलाउने संसदीय दलको बैठकमा सहभागी हुँदै आएकी थिइन् । त्यस्तै ओलीलाई विश्वासको मत पनि दिएकी थिइन् ।
माधव पक्षको बैठकमा तुलसाको उपस्थितिले पार्टी विभाजनमा वामदेवको साथ रहने प्रष्ट देखिएको छ ।
२४ सांसद खुले, वामदेवपत्नी र माया ज्ञवाली पनि थपिए
नेपालले अर्याल होटलमा विशेषगरि आफूलाई साथ दिने सांसदहरुसँग छलफल गरिरहेका छन् । विश्वासको मत दिने बेला आफूसँग रहेका २२ जना सांसदसँग नेपालले छलफल गरेका हुन् । सरकारले ल्याउन लागेको राजनीतिक दलसम्बन्धी अध्यादेश र नयाँ पार्टी खोल्ने विषयमा छलफल केन्द्रित रहेको बताइएको छ ।
आजैबाट यसअघि केपी ओलीलाई साथ दिएका वामदेव गौतम पत्नी तुलसा थापा र माया ज्ञवाली पनि माधव नेपाल पक्षमा लागेका छन् । अर्याल होटलका बैठकमा उनीहरु दुवैजना सहभागी छन् ।
ज्ञवालीले पटक-पटक गुट परिवर्तन गरिरहेकी छन्। उनका छोरा डा.सागर ज्ञवाली भने एमालेको विदेश विभागका सदस्य छन् ।
भीम रावलसहित संस्थापन पक्षसँगको वार्तामा रहेका कार्दलका सदस्यहरू भने बैठकमा देखिएका छैनन् । तर उनीहरू पनि आउने केन्द्रीय सदस्य गंगालाल तुलाधरले जानकारी दिए
नेता नेपालले आज आफूनिकट केन्द्रीय सदस्यहरूलाई फोन गरेर ‘आजै दल दर्ता गर्नुपर्ने हुनसक्छ’ भन्दै तयारी अवस्थामा रहन भनिसकेका छन् । नेपाल पक्षले केन्द्रीय सदस्य र सांसदहरूको हस्ताक्षरसमेत संकलन गरिसकेको छ ।
विभाजन गर्ने बेलासम्म क-कसले साथ दिने भन्ने समेत नेपालले एक-एक सोधिरहेका छन् ।