एक सातापछि बागलुङ–पोखरा खण्ड सुचारु

बागलुङ, भदौ २५ गते । पहिरोको कारण विगत एक सातादेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ–पोखरा खण्ड सुचारु भएको छ ।
पर्वतको मोदी गाउँपालिका–२ पातीचौरमा पहिरोसँगै खसेको विशाल ढुङ्गालाई नेपाली सेनाको टोलीले विष्फोटक पदार्थ प्रयोग गरी फुटाए पछि सडक नियमित सञ्चालनमा आएको हो ।


भदौ १८ गते गएको पहिरोले कुश्मा बजारको खरेया गेटदेखि पाताीचौरसम्मको आठ किलो मिटर सडक अन्तर्गत २० ठाउँमा क्षतविच्छेद गरेको थियो । पहिरोले दोविल्ला क्षेत्रको एक सय मिटर सडक बगाएको हुँदा उक्त क्षेत्रमा पनि एकतर्फि सवारी सञ्चालन हुने गरी सडक खुलाएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका इन्जिनियर उज्ज्वल शर्माले जानकारी दिनुभयो ।एक सातादेखि सडक नखुल्दा धौलागिरिमा डिजेल, पेट्रोल, मट्टितेलको अभाव भएको उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष युवराज राजभण्डारीले बताउनुभयो । सडक सञ्चालनमा आए पछि दैनिक उपभोग्य सामाग्री आयत, निर्यात नियमित हुनेछ ।

साविक धौलागिरिका चार जिल्ला बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा तरकारी तथा फलफूलको समेत अभाव भएको छ । स्थानीय स्तरमा उत्पादन भएको तरकारीले बजार माग धान्न नसके पछि मुल्यवृद्धि भएको छ । सडक अवरुद्ध भए पनि बागलुङमा खाद्यन्न अभाव नभएको अध्यक्ष राजभण्डारीले बताउनुभयो । ‘हामीसँग दुई महिनालाई पुग्ने खाद्यान्न स्टक छ’ उहाँले भन्नुभयो–‘आत्तिएर भण्डार गर्नुपर्दैन ।’

आयोजना कार्यालयले नेपाली सेनाको केवल जंग गुल्मसँग समन्वय गरी ठूला ढुङ्गालाई विस्फोटक पदार्थ प्रयोग गरी फुटाउने काम गरेको छ । अन्य क्षेत्रको पहिरो सफा भैसकेको छ ।पहिरोले इन्टरनेटको फाइवार तार पुरेपछि धौलागिरिमा इन्टरनेट सेवासमेत अनियमित बनाएको छ । समय समयमा फोनमा समेत समस्या आउने गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...