अधिकार सबै केन्द्रकृत हुँदा कानून निर्माणमा कठिनाई : मन्त्री थापा

पोखरा, असोज २ गते । गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मार्मिलामन्त्री विन्दुकुमार थापाले सबै अधिकार केन्द्रकृत हुँदा संविधानको मर्म अनुसार काम गर्न नपाएको बताउनुभएको छ ।

संविधान दिवसको पूर्वसन्ध्यामा मुख्य न्यायाधिवक्ताको कार्यालय गण्डकी प्रदेशले शनिबार आयोजना गरेको नेपालको संविधानको कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री थापाले संघीय निजामति सेवा ऐन नबन्दा प्रदेश निजामति सेवा ऐन बनाउन नमिलेको र कर्मचारी व्यवस्थापनमा समस्या खेप्नुपरेको बताउनुभयो ।

‘संघीयता आएको छ । तर संविधानमा उल्लेख गरिएबमोजिमको संघीयता आउन अझै बाँकी छ । अधिकार सबै केन्द्रकृत हुँदा कानून निर्माणमा कठिनाई भइरहेको छ । संघ सरकारले निजामती सेवा ऐन नबनाउँदा प्रदेश सरकारले सो ऐनको निर्माण गरी कर्मचारी व्यवस्थापन गर्न सकिरहेको छैन ।’,उहाँले भन्नुभयो ।

मन्त्री थापाले संविधान लागू हुनु मात्र ठूलो कुरा नभएको बताउनुभयो । उहाँले संविधानको कार्यान्वयनको पक्ष बलियो भए सरकार बलियो हुने धारणा राख्नुभयो । ‘संविधान आएको ६ वर्ष बितिसक्यो । तर कार्यान्वयन प्रक्रियामा हामी चुकेका छौं । त्यसैले संधिवानको कार्यान्वयन पक्षलाई बलियो बनाउनुपर्ने आजको आवश्यकता हो ।’, उहाँले भन्नुभयो ।

 

मन्त्री थापाले संविधानलाई सकारात्मक दृष्टिकोणले हेर्न पनि आग्रह गर्नुभएको छ । उहाँले अहिलेको संविधान अनुसार नै तिनै तहको निर्वाचन सम्पन्न भएको विषयले संविधानको कार्यान्वयन पक्षलाई दर्शाउने बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...