गठबन्धनले चुनावमा एक रन हान्दा एमालेले छक्का हानिसक्छ : भट्टराई

हेटौंडा, नेकपा एमालेको सचिव योगेश भट्टराईले आगामी निर्वाचनमा एमालेले छक्का दाउ हान्ने टिप्पणी गरेका छन्।

प्रेस चौतारी नेपाल मकवानपुर शाखाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आगामी निर्वाचनमा गठबन्धनले एक रन बटुल्दा एमालेले छक्का हान्ने टिप्पणी गरेका हुन्। ‘गठबन्धन एक रन बटुल्दै गर्छ, एमाले सिधै छक्का हानेर अगाडि बढ्छ। उनीहरुले एमालेलाई भेट्नै सक्दैनन्’, भट्टराईले भने।

देशभरमा करिब ३८ हजारमध्ये २० हजार जनप्रतिनीधि एमालेबाट विजयी हुनेसमेत नेता भट्टराईको दाबी छ। उनले देशमा एमाले र कांग्रेस नै प्रमुख दुई शक्ति भएकाले यी दुई पार्टीबीच गठबन्धन हुन नसक्ने बताए।

प्रमुख दलहरुले नै गठबन्धन गरे प्रतिस्पर्धा गर्न कुनै दल बाँकी नरहने हुनाले एमाले र कांग्रेसबीचमा चुनावी तालमेल हुन नसक्ने उनको भनाइ छ।

उनले माधव नेपालले राजनीतिबाट सन्यास लिने बेला भएको समेत टिप्पणी गरे। भट्टराईले माधव नेपाल राजनीतिबाट अवकाश हुने बेला भइसकेको भन्दै सन्यासी भाषा मात्रै प्रयोग गर्न आग्रह गरे।

एमालेले राप्रपासँग चुनावी तालमेल गर्ने विषयमा माधव नेपालको अभिव्यक्तिबारे पत्रकारहरुले सोधेको प्रश्नमा भट्टराईले भने, ‘राजनीतिबाट अवकाश पाउने बेला भइसकेको मान्छेले यस्तो छुद्र बोलेको सुहाउँदैन। उहाँले त अब सन्यासी भाषा मात्रै बोल्ने हो।’

नेता भट्टराईले अरू दलसँग दलाली गरेर एमालेसँग फाईदा लिन नआउन प्रचण्डलाई आग्रहसमेत गरे। प्रचण्डले एमालेसँग चुनावी तालमेल हुनसक्ने भन्दै दिएको अभिव्यक्तिबारे उनले भने, ‘एमाले मोहले आउनुहुन्छ भने ठिक छ। तर, देउवालाई घुर्क्याउन एमालेसँग विजनेस गर्न पाइँदैन। अरू दलसँग दलाली गरेर एमालेबाट फाइदा लिनेबारेमा नसोच्दा पनि हुन्छ।’

उनले वैशाखको पहिलो हप्तासम्म सबै उम्मेदवारको टुंगो लगाएर ९ गते पार्टीले घोषणापत्र जारी गर्ने बताए।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...