यही ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले शुक्रबार सम्ममा मतपत्र ढुवानीको काम सकिने भएको छ । निर्वाचन आयोगको निर्वाचन सञ्चालन तथा व्यवस्थापन शाखाका उपसचिव ऋषिराम भुसालका अनुसार अब प्रदेश–१ को मोरङ, मधेस प्रदेशका केही जिल्ला र बाग्मती प्रदेशको चितवनमा मतपत्र ढुवानी गर्न बाँकी छ ।
हालसम्म आयोगले ६५ जिल्लामा मतपत्र ढुवानीसमेत गरिसकेको उनले जानकारी दिए । भुसालका अनुसार आयोगले केही स्थानीय तहको भने मतपत्र पुनः छाप्नुपरेको छ ।
आयोगले निर्वाचन सम्पन्न गर्न अन्य आवश्यक काम यसअघि गरिसकेको छ । यसपालि निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतादाताले निर्वाचनमा भाग लिँदैछन् । त्यसमध्ये ८९ लाख ९२ हजार १० जना पुरुष, ८७ लाख ४१ हजार ५३० जना महिला र १८३ जना अन्य रहेका छन् ।