उनीहरू कति जना दिदी बहिनीहरू थिईन, त्यो त थाहा भएन तर मैले थाहा पाउदा देखि नै साईली र उनको आमालाई मात्रै देखेको हु !
हाम्रो घर अलि दम्साइलोमा थियो ।
साइलीको घर – ढिकुरे डाँडाको पल्लो पटि, छेउमा थियो ।
हाम्रो देखि साईलीको घर लगभग तीन सय मिटर जति पश्चिम तिर पर्दथ्यो !
साइलीको घर देखि दुई सय मिटर तलतिर बुदेम्पाको घर थियो !
बुदेम्पाको घर चाहि अलि कप्टेरो कप्टेरोमा थियो तर पनि हाम्रो देखि बुदेम्पाको घर राम्रै सँग देखिन्थ्यो।
साइली, बुदेम्पा र हाम्रो घरको बिचमा एउटा धारा थियो अनि धारा माथि पिपलको बुट्टा !
सूर्यास्तमा क्षितिज पारीबाट आउने सुनौलो किरणले साइलीको घर, बुदेम्पाको घर, धारा अनि पिपलको बुट्टाका दृश्यहरूलाई अझ मनमोहक बनाउँथ्यो !
बुदेम्पाको छोरा ध्रुवे, मेरो बालसखा !
गाउमा सँगै खेल्यौ, हुर्कियौ ! लगभग वि. स. २०५२ सालमा खोटाङको लामीडाँडामा गल्ला सेलेक्सनबाट छनौट भएर फाइनल सेलेक्सनको लागी पोखरा गयौ ।
पोखराको छनौट पछि हाम्रो पल्टनहरू छुटियो ! ध्रुवे ईन्जिनियर पल्टनमा र म सिग्नल्स कम्पनीमा । कहिलेकसो मात्र नत्र हाम्रो छुट्टी आउने पनि सधै सँगै हुन्थ्यो !
ध्रुवे अलिक चञ्चल स्वभावको थियो, उ हसी मजाक पनि अलि बढि नै गर्थ्यो ! वि. स. २०५८ साल तिर, हामी छुट्टी आएर, फेरी पल्टन फर्किन लागेका थियौ ! पल्टन पर्कन पोखरा बेस क्याम्पमा हाजिर हुनु पर्थ्यो ! हाजिर भएर पल्टन फर्कन पर्ने भएकोले लेक साइड तिर घुम्ने प्लान बनायौ ! लेक साइड घुम्दा घुम्दै हामी बिरौटा चौक पुग्यौ !
बिरौटा चौक, पोखरामा सिमसिम सेकुवा कर्नरमा सितन भुटन खादै थियौ ! पल्लो घरमा धामी बसेको, थाल ढ्याङ्ग्रो ठट्टाको आवाज आईरहेको थियो ! यत्तिकैमा ध्रुवेले, “कता तिर हो ? यो धामी बसेको, साहुनी ।” भन्दै सोध्यो । “पल्लो घरमा हो । धामी मात्रै होइनन्, बिजुवा नै हुन ! कस्तो छ्यात छ्याती फलाक्छ।” साहुनी, “अब म पनि तपाईहरू गए पछि त्यतै जोखाना हेराउन जानु पर्ने !” धुर्वे, “त्यस्तो छ्यात छ्याती फलाक्छ भने हामी पनि देखाउन त !” मलाई कता कता ध्रुवेले केहि उटपट्याङ गर्छ जस्तो लागि रहेको थियो ! मैले, “त्यहा जोखाना हेराउदा, केहि उटपट्याङ हर्कत चाहि नगर है ।” भनेर सम्झाए ध्रुवेले “ह्या ! हिड न ! एकपटक जोखाना हेराउ !” भन्यो !
बैसाखे पूर्णेको रात, धामी बसिरहेको थियो ! हामी पनि धामी बसेको हेर्न थाल्यौ ! सेकुवा पसलबाट निस्किदा, ध्रुवे एकछिन कता हराको थियो ! जोखाना देखाउने कागज, प्लास्टिक, टपरीको अछेताका पोकाहरूका थुप्राहरूमा ध्रुवेले पनि ज्याकेटको गोजीबाट प्लास्टिकको पोका राख्यो ।
“सात नदि, सातै ताल
सात देवि, सातै थुमको चाल
महारानी, सतीदेवी
कहिले खोला खोल्सा नाच्ने
कहिले भीर पाखामा डुल्ने
हे परमेश्वरी ! हैट” भन्दै लगभग एक घण्टासम्म देउता थानको वरिपरि नाचेर धामीले जोखाना हेर्न थाले ।
जोखाना हेर्ने क्रममा जब ध्रुवेको जोखानाको पालो आयो ! धामीले ध्रुवेले राखेको जोखानाको पोका नछोईकन नै, “यो कसको पोका हो ?” भन्दै कड्किन थाले ! मैले ध्रुवेलाई हेरे, उ पनि अक्क न बक्क भएर हेरी रह्यो ! ध्रुवेले धामीलाई नमस्कार गर्दे, “गल्ती गरे प्रभु, माफ पाउ !” भन्न थाले । मैले, “के गरीस ?” भन्दै कराए ! ध्रुवेले जोखानामा अक्षिताको साटो बाख्राको बड्कुला राखेको रहेछ ! उसको फटाई कारणले हामीलाई लज्जित त बनायो नै, मलाई धेरै नै नराम्रो पनि लाग्यो ! धामीलाई माफ माग्दै, साहुनीलाई सहयोग मागेर फेरी चामलको अक्षिता राखेर जोखाना हेर्दिन आग्रह गर्यो ! त्यतिबेला चाहि ध्रुवे निकै डराएको महसुस गरे ! “हेर मनुवा ! तेरो घरको माथि तिर आमा छोरी देख्छु। पानी थाप्न जादा, तलाई आखा लगाको रहेछ । तेरो मुन्टो नभाको पो देख्छु है !” भन्दै धामी झन काम्न थाल्यो ! मैले झल्याँस्स डाँडाघरे साइली र उनको आमालाई सम्झिए। ध्रुवे निकै डराएको थियो । हामी क्याम्प फर्कियौ ! मेरो पल्टन हङकङमा, ध्रुवेको ब्रुनाईमा।
हामी आ-आफ्नै पल्टन तीर रवाना भयौ ! लगभग तीन महिना पछि, “ब्रुनाईमा ईन्जिनियर पल्टनको ध्रुवे परेड खेलेर आए पछि पानी खाएको थियो, हर्ट-अट्याक भएर मर्यो रे !” भन्ने खबर आयो ! मैले साईली र उनको आमालाई, बुदेम्पाको घर, ध्रुवे, धारा र पिपलको बुट्टा, पोखराको धामी सबैलाई सम्झिए ! “के डाँडाघरे साइली बोक्सी थिईन त ?” भनेर पनि सम्झिए। “कि ध्रुवे हर्ट-अट्याकले मर्नु र जोखानामा अक्षिताको साटो बाख्राको बड्कुला राख्नु संयोग थियो ?” भनेर पनि सम्झिए मनमा अनेकन प्रश्नहरू खेलिरहे, ति अनेकन प्रश्नहरूका उत्तर पाउन, मनमनै धामीको “सतीदेवी” र “डाँडाघरे साइली” पुकारी रहे !
-डा. किशोर गुरुङ्ग
नेपालगन्ज मेडिकल कलेज