काठमाण्डौ, सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रले साहित्य क्षेत्रमा उल्लेखनिय योगदान गर्नुहुने साहित्यका विभिन्न विधाका श्रष्टाहरुलाई सम्मान गर्दै आइरहेको छ । हालै मात्र काठमाण्डौंको टोखा नगरपालिकामा गरिएको काव्य यात्राको क्रममा करिव पन्ध्र सय विभिन्न बिधाका पुस्तकका समीक्षा लेखिसक्नुभएका वरिष्ठ समीक्षक तथा साहित्यकार अरुण ‘नदी’ खत्रीलाई ‘’अविरल समालोचना साधक बुढानिलकण्ठ’’ बाट सम्मान गरियो त्यस्तैगरी कवि रेणु अधिकारी ‘मौनता’ लाई ‘’अविरल साहित्य साधक टोखा ‘’ विभुषण द्वारा एक समारोहका साथ विभिन्न विधाका साहित्यकारहरुको बाक्लो उपस्थितीमा विभुषित गरिएको छ ।
उक्त कार्यक्रम वरिष्ठ लेखक तथा साहित्यकार द्वारिका श्रेष्ठको प्रमुख आतिथ्य तथा सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रका अध्यक्ष स्वजन स्वराज शाक्यको अध्यक्षता एवं टोखा नगरपालिका नगरप्रमुख प्रकाश अधिकारीे र अन्तर्राष्ट्रीय नेपाली साहित्य समाजका अध्यक्ष होम सुवेदीको आतिथ्यमा सम्पन्न भएको थियो ।
नेपाली साहित्यमा अविरल रुपमा कलम चलाउनुहुने र सर्वाधिक समीक्षा लेखेर उत्कृष्टता हासिल गरेका समीक्षक तथा साहित्यकार अरुण नदी खत्री तथा टोखा नगरपालिकाका साहित्यिक गतिविधिमा सशक्त रुपमा क्रियाशील रहेकी साहित्यकार रेणु अधिकारी ‘मौनता’ लाई दोसल्ला ओढाएर प्रमाणपत्र सहित सम्मानित गरिएको थियो । उक्त कार्यक्रममा नगर प्रमुख प्रकाश अधिकारीले सम्मानित तथा पुरस्कृत सर्जकहरुलाई बधाई तथा प्रगतिको शुभकामना दिनुभयो । उक्त कार्यक्रममा प्रमुख अतिथि द्वारिका श्रेष्ठले अक्षलोक साहित्य केन्द्रको प्रशंसा गर्दै आगामी दिनहरुमा लुकेर बसेका साहित्यिक मनहरुलाई उजागर गर्न हौसला मिलोस् भन्ने विचार व्यक्त गर्नुभयो ।
उक्त अवसरमा अक्षलोक साहित्य केन्द्रका संरक्षक डा.सावित्री श्रेष्ठद्वारा उपस्थित महानुभावहरुलाई स्वागत गर्दै संस्थागत गतिविधि लगायत पदाधिकारी परिचय एवं महेशराज खरेल तथा प्रा. पोषराज चापागाईंकृत पुस्तक परिचर्चा समेत गरिएको थियो । उक्त कार्यक्रममा सहभागी साहित्यकारहरुले टोखा नगरपालिकाका विभिन्न स्थानहरुमा साहित्यिक पदयात्रा समेत गरिएको थियो । सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रले साहित्य क्षेत्रको उन्नयनका लागि नेपालमा मात्रै नभएर विश्वभर छरिएर रहेका साहित्यिक मनहरुलाई समेत समेटदै अघि बढीरहेको र नेपालका विभिन्न स्थानहरुमा साहित्यीक काव्य यात्रालाई निरन्तरता दिैंदै अघि बढीरहेको छ ।