पानी परेपछि खुसीले मनाइँदै साउने पन्ध्र

पानी परेर रोपोमा पानी लागेपछि महोत्तरीका किसानलाई साउने १५ पर्वले खुसी दिएको छ । असार मध्ययता पानी नपरेर धानको रोपो पहेँलिदै गएबीच पर्वअघि लगातार दुई दिन पानी परेपछि किसानको अनुहारमा खुसी छाएको हो ।

“दुःखसुख रोपेको धानको रोपो खेतमा धजा फाटेर सुक्दै थियो”, बर्दिबास–२ का किसान पवित्रा खड्का भन्नुहुन्छ, “धन्न साउने १५ अघि पानी प¥यो र धानको रोपो फिर्ने आश जाग्यो ।” खेतमा रोपेको धान पानीबेगर पहेँलिदै गएपछि विरक्तिएका जिल्लाका किसानलाई गत शुक्रबार र शनिबार साँझको वर्षा अमृत वर्षेझैँ लागेको छ ।

वर्ष दिन गुजारा गर्नपर्ने मुख्यबाली नै पानीबेगर मर्न लाग्दा किसानलाई दुई दिन अघिसम्म साउने १५ पर्वको रमाइलो थिएन । तर लगातार पर्वअघि दुई दिन परेको पानीले रोपो फिर्न लागेपछि तै बाली भइहाल्छ कि भन्ने आश जागेको यहाँका किसान बताउँछन् । जिल्लामा लामो खडेरीपछि गत शुक्रबार साँझ र शनिबार परेको पानीले धानको रोपोलाई अमृतकै काम गरेको किसानको भनाइ छ । लगातार दुई दिन पानी परेपछि किसानलाई साउने १५ पर्व चाड आएजस्तो बनेको भङ्गाहा–४ का ७८ वर्षीय किसान दीपबहादुर फुँयाल बताउनुहुन्छ ।

साउन १५ लाई कृषिपर्वका रूपमा मनाइने गरिन्छ । सामान्यतया धान रोपाइँ सकिने हुँदा हिलोमा काम गरेको चिसोको असर मेट्न यस दिन खिर खाने नेपाली चलन छ । तर बीउ, मल र पानीको तुक नमिल्दा किसानले यसपालि अपेक्षित धान रोपाइँ गर्न सकेका छैनन् ।

“पानी पर्याप्त भएको भए एक साताअघि नै रोपाइँ सकिन्थ्यो, के गरौँ ? आफ्ना भाग्यमा आकाश ताक्न लेखेको छ”, बर्दिबास–९ टोकीटोलका किसान रामचन्द्र थापा मगर भन्नुहुन्छ, “जे–जस्तो होस् साउने १५ मा खेतको रोपो फिरेको हेर्न पाइएको छ, समयले साथ दिए अब केही न केही धान भित्रिन्छ ।” पानीले लगातार साथ दिए बाँकी रोपाइँ पनि एक साताभित्र सकिने यहाँका किसान बताउँछन् । पछिल्लो वर्षाले पर्व हासीखुसी मनाउन पाइएको किसानको भनाइ छ ।

जिल्लामा यसपालि पहिले बीउको अभाव भएर समयमा ब्याड राख्न नपाएको, असार १५ यता पानी नपर्दा पहिलेको रोपो सुक्दै गएको र थप रोपाइँ गर्न नपाइएको र मल बजारमा नपाउँदा त्यत्तिकै खेती गर्न परेको किसानको बिलौना छ । “हाम्रो हातमा केही भएन, खेतीमा सबै ईश्वरकै भर भयो”, समयमा पानी पर्ने÷नपर्ने कुरा ईश्वरीय लीला बुझ्ने बर्दिबास–६ मनहरिपुरका किसान बिन्देश्वर यादव भन्नुहुन्छ, “किसानलाई हेर्ने कोही भएनन्, न सिँचाइको प्रबन्ध, न समयमा बीउ मल !”

जिल्लामा करिब ७० हजार हेक्टर खेतीयोग्य जग्गामध्ये लगभग ५० हजार हेक्टर धानखेतीका लागि योग्य मानिन्छ । तर कुलो नहरले सिँचाइ पुगेका १० प्रतिशतमात्र जग्गा हुँदा यहाँका अधिकांश खेती आकाशे पानीकै भरमा हुने गरेको छ । ठिक बेलामा पानी परी दिँदा किसानलाई त्यो नै ठूलो पर्व हुने गरेको छ ।

अहिले पर्वको मुखमा पानी परेपछि दङ्ग परेका किसान आज मन फुकाएर पर्वको तयारीमा लागेका छन् । यो पर्वमा खिर खाने परम्पराअनुसार जिल्लाका उत्तरवर्ती क्षेत्रमा दूधको जोहोमा सर्वसाधारण एकाबिहानै जुटेका देखिँदा छन् । जिल्लाका बर्दिबास, गौशाला, भङ्गाहा र औरही नगरपालिका क्षेत्रमा पर्वते मूलका हिन्दू धर्मावलम्बीको सघन बसोबास छ ।

विवाह भएर गएका छोरीचेली र ज्वाँइचेलालाई निम्ता गरेर खिर खुवाउने पुरानो परम्परा रहेको बुढापाका बताउँछन् । जिल्लाका बर्दिबास, भङ्गाहा, गौशाला र औरही नगर क्षेत्रका बजारमा दूधको माग आज निकै बढेको यस भेगका दूध व्यापारीले बताएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...