मतदाताको प्रश्नले रिसाए प्रभु साह, हप्काउँदै भने : नचाहिँदो कुरा नगर्नू, बढ्ता नबोल्नू

नेकपा एमाले छाडेर रौतहट क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहले मतदातालाई हप्काउँदै गरेको भिडिओ सार्वजनिक भएको छ।

जनता समाजवादी पार्टीसँगको तालमेलप्रति असन्तुष्टि जनाउँदै एमाले छाडेका उनी नेपाली कांग्रेस-नेकपा माओवादी केन्द्रसहितको गठबन्धनको साथ लिएर चुनावी मैदानमा छन्।

सत्तारुढ दलको बलमा चुनावी मैदानमा रहेका प्रभु साह तिहारकै बीच पनि मतदाताको घरमा पुगिरहेका छन्।

माला र टीकासमेत पहिरिएर मतदाताको घर घरमा पुगिरहेका साहले रौतहट क्षेत्र नम्बर ३ का केही मतदातालाई हप्काइरहेको भिडिओ सामाजिक सञ्जालमा आएको छ।

आफ्नै क्षेत्रको एक घरमा घरमा अन्य उम्मेदवार र कार्यकर्ता अघि पछि लगाएर नमस्कार गर्दै पुगेका उनलाई मतदाताले प्रश्न गरेर घेरिहाल्छन्।

तिहार र छठको शुभकामना दिँदै घरमा पुगेका उनलाई मतदाताले रौतहटकै बलुवाको मदरसा उद्घाटन गरेकोबारेमा प्रश्न तेर्स्याइ गए।

तिहार र छठको शुभकामना दिएका उनलाई मतदाताले सोध्छन्, ‘तपाईंलाई म कसरी टक्र्याऊँ हजुर’, एकजना महिला मतदाताले भन्छिन्। त्यहीबीचमा एक पुरुष मतदाता बोल्छन्, ‘तपाईंले भन्नु भएको, त्यो बलुवाको मदरसा उद्घाटन गर्दा केहि भन्न सक्नु भएन। तपाईंले मदरसा उद्घाटन गर्नु भएको हो कि होइन, पहिले भन्नु न!’

मतदाताले यसो भनेपछि प्रभु साह रिसाएर कड्किँदै भन्छन्, ‘जे पायो त्यही नबोल्नुस् के!के उद्घाटन गरेको थिएँ, पहिले त्यो भन्नुस् न त!’

त्यसपछि प्रभु साहसँगै आएका अर्का नेताले मदरसा उद्घाटन नभएको बताउँछन्। अनि ती मतदाताले उद्घाटन होइन, शिलान्यास शिलान्यास भन्दै फेरि प्रश्नले घेर्छन्।

तपाईंले त्यहाँ बलुवामा शिलान्यास गरेको स्कुल हो कि मन्दिर हो? त्यसपछि रिसाएका प्रभु साह जवाफ फर्काउँछन्, ‘के हो कि हो कि गरेको, प्रष्ट भन्नु न!’

यो विवादले प्रभु साह आक्रोशित भएपछि अर्की मतदाता महिलाले हस्तक्षेप गर्दै प्रश्न तेर्साउँछिन्।

‘म तपाईंसँग प्रष्ट भन्दैछु, मेरो कुरा सुन्नुस्। हजुर एउटा नेता, हामीले चुनावमा हजुरलाई जिताएर कुर्सीमा राखिदिएको हो’, उनले भनिन्, ‘हजुर गरिबको नेता भनेर चिनिनु भएको हो। हजुरमार्फत हामी जस्ता सोझासाझा जनताको गरिबको भाग्य र भविष्य खोसिन्छ भने हामीले के अपेक्षा गर्ने?’

त्यो प्रश्नले रिसाएका साह सोध्छन्, ‘के भएको छ भन्नुन, धेरै कुरा नघुमाउनु, भन्नु छैन के भएको हो छिटो भन्नु।’

त्यसपछि भिडिओको अन्तिमा ती महिला मतदाताले आफूमाथि साहले अन्याय गरेको भन्दै कागजपत्र देखाउन थाल्छिन्। ‘यहाँ हेर्नुस् कागजपत्र…

मतदाता र प्रभु साहबीचको भनाभनको यो भिडिओ सुदर्शन घिमिरे नामका एक मतदाताले सार्वजनिक गरेका थिए। तर उनले साह विवादमा परेपछि यो भिडिओ हटाएका छन् भने अर्को तस्बिरसहितको टिकटक भिडिओ भने राखेका छन्।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...