इथियोपियामा भएको युद्धविरामको दक्षिण अफ्रिकाद्वारा स्वागत

इथियोपियामा भएको युद्धविरामको दक्षिण अफ्रिकाले स्वागत गरेको छ । दक्षिण अफ्रिकाको सरकारले बिहीबार सो युद्धविरामको स्वागत गरेको बताइएको हो । इथियोपियाको सरकार र उत्तरी इथियोपियामा हिंसात्मक द्वन्द्व गरिरहेको विद्रोही समूह टिगरे पिपुल्स लिबरेसन फ्रन्टका बीचमा बुधबार युद्धविराम भएको थियो ।
सो युद्धविरामको संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले पनि बिहीबार स्वागत गर्नुभएको थियो । उहाँले यहाँ भएको युद्धविरामको समयलाई लम्ब्याउन र यसैमार्फत् इथियोपियामा शान्ति स्थापनाका लागि सबैको सहयोगका लागि आग्रह गर्नुभएको थियो ।

दक्षिण अफ्रिकाको प्रिटोरियामा इथियोपियाको सरकारका प्रतिनिधि र यहाँको टिगरे क्षेत्रमा हिंसा जारी राखेको टिगरे पिपुल्स लिबरेसन्स फ्रन्ट समूहका बीच शान्ति वार्ता भएको थियो र यसैक्रममा दुवै पक्ष बुधबार हालका लागि युद्धविराम गरी वार्ता प्रक्रिया अघि बढाउन सहमत भएका थिए ।

दक्षिण अफ्रिकी सरकारको समन्वयमा सो वार्ता सुरु भएको र त्यसपछि बुधबार यी दुवै पक्ष तत्कालै युद्धविराम गर्न सहमत भएका थिए । सो युद्धविरामको राष्ट्रसङ्घ र विश्व समुदायले नै स्वागत गरेको छ ।

दक्षिण अफ्रिकाको सरकारले प्रकाशन गरेको विज्ञप्तिमा टिगरे क्षेत्रमा जारी रहेको हिंसाका कारण यहाँको जनजीवन प्रभावित भएको भन्दै यसबाट नागरिकको शान्तिपूर्ण र स्वतन्त्रपूर्वक बाँच्न पाउने अधिकारको सम्मान गर्न तथा देशमा शान्ति स्थापना गर्न सबैको सहयोग आवश्यक रहेको उल्लेख गरिएको छ ।

बुधबार इथियोपियाली सरकार र उत्तरी इथियोपियाली टिगरेका विद्रोहीका तर्फबाट जारी गरिएको युद्धविरामको अवधिलाई थप लम्ब्याएर यसैबाट शान्ति स्थापनाको बाटो पहिल्याउन पनि सो विज्ञप्तिमा आग्रह गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...