शान्ति सम्झौताको पालना गर्ने प्रतिबद्धता

इथियोपियाली सरकारले यहाँका विद्रोहीहरुसँग हालै भएको शान्ति सम्झौताको कार्यान्वयन हुने जनाएको छ । आइतबार यहाँको सरकारको सूचना तथा सञ्चार विभागले एक विज्ञप्ति प्रकाशन गरेर सो कुराको प्रतिबद्धता व्यक्त गरेको हो ।

इथियोपियाको सरकार र उत्तरी इथियोपियामा हिंसात्मक युद्ध गरिरहेको विद्रोही समूह टिगरे पिपुल्स लिबरेसन फ्रन्टका बीचमा केही दिनअघि युद्धविराम भएको थियो । सो युद्धविरामपछि सरकार र विद्रोही पक्षका बीचमा शान्ति सम्झौता पनि भएको थियो ।

आइतबार प्रकाशित सो विज्ञप्तिमा उक्त शान्ति सम्झौताको कार्यान्वयनका लागि काम भइरहेको भन्दै यसबाट नागरिकका अधिकारहरुको सुरक्षा हुने पनि बताइएको छ । उक्त सम्झौताअनुसार नै कतिपय युद्धग्रस्त क्षेत्रका नागरिकलाई मानवीय सहायता पनि पु¥याइएको र यहाँ विभिन्न सहायताकर्मीलाई पनि जान दिइएको भन्दै आगामी दिनमा यही सम्झौता अनुसार नै अघि बढ्ने र यहाँ दुई वर्षभन्दा लामो समयदेखि जारी रहेको हिंसाको अन्त्यको पहल गरिने सो विज्ञप्तिमा जनाइएको छ ।

सो युद्धविराम तथा शान्ति सम्झौताको संयुक्त राष्ट्रसङ्घले पनि स्वागत गरेको थियो । यहाँ भएको युद्धविरामको समयलाई लम्बाउन र सरकार र विद्रोहीले गरेको शान्ति सम्झौताबमोजिम इथियोपियामा शान्ति स्थापनाका लागि सबैको सहयोगका लागि आग्रह पनि राष्ट्रसङ्घले गरेको छ ।

यहाँको टिगरे क्षेत्रमा हिंसा जारी राखेको टिगरे पिपुल्स लिबरेसन्स फ्रन्ट समूह र सरकारबीच शान्ति वार्ताका लागि युद्धविराम भएको बताइएको छ । टिगरे क्षेत्रमा जारी रहेको हिंसाका कारण यहाँको जनजीवन प्रभावित भएको भन्दै यसबाट नागरिकको शान्तिपूर्ण र स्वतन्त्रपूर्वक बाँच्न पाउने अधिकारको सम्मान गर्न तथा देशमा शान्ति स्थापना गर्न सबैको सहयोग आवश्यक रहेको राष्ट्रसङ्घको भनाई छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...