पोखरा ।पोखराका २१ वाङ्मयिक संस्थाले विश्व संगीत दिवसका अवसरमा सांगीतिक कार्यक्रम गर्ने भएका छन् । सप्तरंगी सांस्कृतिक प्रतिष्ठान पोखराको मुख्य आयोजना र अन्य २० वाङ्मयिक संस्थाको सहआयोजनामा उक्त कार्यक्रम हुन लागेको हो ।
पोखरा उद्योग बाणिज्य संघको सभाहलमा असार ६ गते दिउँसो ३ बजे हुने कार्यक्रममा लोकदोहोरी, मौलिक गीत, शास्त्रीय संगीत, लोक नृत्य, लाइभ ब्याण्ड सहित १५ देखि १७ वटा प्रस्तुति रहने विश्व संगीत दिवस २०८० का कार्यक्रम संयोजक नवराज बरालले जानकारी गराए ।
उनका अनुसार एकल रुपमा संगीत दिवस मनाउँदा प्रभावकारिता नदेखिने भएकाले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा प्रवेश निशुल्क रहेको उनले उल्लेख गरेका छन् ।