काँग्रेसले गण्डकीले प्रदेश सम्मेलन गर्ने

पोखरा, असोज २३ गते । नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यसमितिको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।गण्डकी प्रदेश समितिका सभापति शुक्रराज शर्माको सभापतित्वमा सम्पन्न बैठकले पार्टी संगठनको सुदृढीकरण लगायतका सम्बन्धमा विभिन्न महत्वपूर्ण निर्णय गरेको छ ।

बैठकले पार्टीको गण्डकी प्रदेश सम्मेलन गर्ने निर्णय गरेको छ । बैठकले यही मंसिर १३ र १४ गते हुने महासमिति बैठकका लागि प्रदेशका तर्फबाट प्रस्तुत हुने प्रस्ताव तथा सुझाव तयार गर्न महामन्त्री किरणबाबु श्रेष्ठको संयोजकत्वमा उपसमिति गठन गरिएको छ । बैठकले प्रदेशबाट जिल्लाका प्रदेश क्षेत्रहरूमा खटाइएका प्रतिनिधिबाट प्राप्त प्रतिवेदनको अध्ययन एवम् कार्यान्वयन गर्नका लागि महामन्त्री विष्णुप्रसाद लामिछानेको संयोजकत्वमा ध्रुव शर्मा पगेनी र शोभा अधिकारी सदस्य रहनुभएको उपसमिति गठन गर्ने निर्णय गरेको छ ।

 

 

त्यस्तै बैठकले यही असोज २५ गते शुवर्ण शमशेर स्मृति विशेष कार्यक्रम गर्ने निर्णय गरेको छ । बैठकले विरेन्द्रप्रसाद मण्डलको संयोजकत्वमा लेखा समिति गठन गर्ने निर्णय गरेको छ । उक्त समितिका सदस्यमा तेजबहादुर कुँवर र पदमबन्धु पोख्रेल रहनुभएको छ ।उक्त वैठकमा वीपी स्मृति पुस्तकालय गण्डकी प्रदेश समितिले भाद्र २४ गते ११० औ वीपी जयन्तीको अवसरमा आयोजित सम्मान कार्यक्रम एतिहासिक रहेको र अनुकरणीय कार्य गरेकोमा कृतज्ञता सहित बधाई ज्ञापन गरिएको थियो ।

 

बैठकले प्रदेश समिति सदस्य एवम् स्वास्थ्य विभाग संयोजक नारायण बरालको असामयिक स्वर्गारोहण भएकोमा शोक प्रस्ताव पारित गरेको छ । त्यस्तै इजरायलमा भएको सांघातिक हमालामा परी निधन भएका १० जना नेपाली विद्यार्थीको निधनमा शोक व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै फसेका नेपालीको शीघ्र उद्धार गर्न आग्रह गरिएको छ । गण्डकीमा फैलिएको डेगुको प्रकोप नियन्त्रणका लागि बैठकले सरकारको ध्यानकर्षण गराएको छ ।

 

 

बैठकमा नेपाली काँग्रेस गण्डकी प्रदेश समितिका सभापति शुक्रराज शर्माले पार्टी संगठनलाई बलियो बनाउँदै लैजानु वर्तमानको आवश्यकता भएको बताउनुभयो ।पार्टीको कार्यसमिति र पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिबीच समन्वय हुनु जरुरी रहेको बताउँदै उहाँले उहाँले पार्टीका नीति तथा सिद्धान्त अनुसार जनप्रतिनिधिहरू कृयाशिल हुनुपर्ने धारणा राख्नुभयो ।

 

 

त्यसैगरी उक्त वैठकमा सभापति शर्माले पार्टीलाई कमजोर हुने गरि कसैलेपनि जथाभावीरुपमा अभिव्यक्ति नदिनकोलागि अनुरोध गर्नुभएको थियो ।नेपाली काँग्रेस संसदीय दल गण्डकी प्रदेशका नेता एवम् गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आँफू पार्टी संगठनसँग निरन्तर समन्वय गर्दै अघि बढीरहेको बताउनुभयो ।एकतावद्ध रुपमा अघि बढ्न सकेमा पार्टी बलियो बन्ने उल्लेख गर्दै उहाँले सबै मिलेर विद्यमान समस्याको समाधान गर्न सकिने बताउनुभयो ।

 

 

नेपाली कांग्रेस नवलपुरका सभापति एवम् गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले कृषि क्षेत्रको विकासलाई प्राथमिकताका साथ अघि बढाइएको बताउनुभयो । पार्टीको नीति तथा आदर्शमा रही जनताले अपेक्षा गरे अनुसारका कामलाई अघि बढाउने कुरा आफ्नो प्राथमिकतामा रहेको उहाँले बताउनुभयो ।नेपाली कांग्रेस तनहुँका सभापति एवम् गण्डकी प्रदेशका अर्थ मन्त्री जीतप्रकाश आलेले पार्टीको अधिवेशनमा तल्लो तहबाटै आउनुपर्ने व्यवस्थालाई सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।

 

 

बैठकमा पार्टीका उपाध्यक्षद्वय कल्पना तिवारी र मेखलाल श्रेष्ठ, महामन्त्रीद्वय किरणबाबु श्रेष्ठ र विष्णु लामिछाने लगायतले आआफ्ना धारणा राख्नुभयो ।प्रदेश सभापति शुक्रराज शर्माको सभापतित्वमा सम्पन्न बैठकको सञ्चालन महामन्त्री किरणबाबु श्रेष्ठले गर्नुभएको थियो ।बैठकमा जिल्ला जिल्लामा खटिनुभएका प्रदेश कार्यसमितिका सदस्यले तत्तत् जिल्लाको पार्टी संगठन, गतिविधि एवम् समस्या सहित समाधानका उपाय बारे जानकारी गराउनुका साथै प्रतिवेदन पेश गरेको प्रवक्ता माधवप्रसाद बास्तोला(मधु)ले जानकारी गराउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...