काठमाडौँ, कात्तिक १६ गते । सरकारले (आज) बिहीबार राति १२ बजेबाट चालु संसद्को अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले यो निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले मन्त्रीपरिषद्को बैठकले आज राति १२ बजेबाट चालु संसद्को अधिवेशन अन्त्य गर्ने निर्णय गरेको बताउनु भयो । उहाँकाअनुसार सरकारले राधिका अर्याललाई प्रशासनिक र विश्वबाबु पुडासैनीलाई प्राविधिक सचिवमा बढुवा गरेको छ ।
उहाँले भन्नुभयो, ‘मन्त्रीपरिषद्को बैठकले आज राति १२ बजेबाट चालु संसद्को अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । सिनियारिटीको हिसाबले राधिका अर्याल प्रशासनिक र विश्वबाबु पुडासैनीलाई प्राविधिक सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गर्ने र उपभोक्ताहरूलाई सास्ती दिने जस्ता कतिपय कुराहरू सरकारले पाएको छ । सम्बन्धित मन्त्रालयले अनुगमन गर्ने र जनतालाई दुःख दिने खालको र मूल्य भन्दा बढी लिने खालको अनुगमन, नियन्त्रण र कारबाही गर्ने निर्णय भएको छ ।’