फेवा महोत्सवलाई साथ र सहयोग रहने प्रतिवद्धता

पोखरा,  चैत । होटल संघ पोखरा नेपालले यही चैत २९ गतेदेखि आगामी वैशाख १ गते सम्म आयोजना गर्ने तीन दिने १९ औं फेवा नव बर्ष महोत्सवमा पर्यटकीय राजधानीको इज्जत धान्ने गरी नयाँपन प्रदान गर्न विभिन्न संघसंस्थाले सुझाव दिएका छन् ।
पोखराको फिस्टेल गेटदेखि हल्लनचोकसम्म आयोजना हुने महोत्सवमा नेपाली मौलिक संस्कृतिको संरक्षण गर्दै पछिल्लो पुस्ताको इच्छा र रुची समेतलाई ख्याल गरी कार्यक्रमहरु पस्कने तयारी भइरहेको संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए । पर्यटक दौड र संभव भएसम्म डुंगा दौड समेत महोत्सवमा समेटिने उनले सुनाए ।

महोत्सवका अवसरमा पोखराका विभिन्न पर्यटकीय संघसंस्थाका तर्फबाट भारि छुट प्रदान गरिएको स्मरण गराउँदै अध्यक्ष सुवेदीले महोत्सवलाई भव्य बनाउन संघले गठन गरेका विभिन्न २१ उपसमितिले काम गरिरहेको जानकारी दिए । महोत्सवमा सांस्कृतिक कार्यक्रम, पंचैबाजा, नाचगानका कार्यक्रम, दोहोरी र कन्सर्ट समेटिने उनले सुनाए ।

यसपटकको महोत्सवमा ड्यामसाइड क्षेत्रमा समेत विविध गतिविधि संचालन गरिने संघले जनाएको छ । स्टेज नै निर्माण गरी ड्यामसाइडमा मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिने अध्यक्ष सुवेदीले जानकारी दिए ।

सो अवसरमा बोल्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले महोत्सवको प्रचारका लागि डिजिटल मार्केटिङलाई जोड दिन र भारतीय संचारकर्मीलाई समेत महोत्सवमा आमन्त्रण गर्न सुझाव दिए । पोखरालाई पर्यटनको राजधानीको रुपमा घोषणा गरिएपछि यसलाई एउटा ब्राण्डको रुपमा प्रचारित गर्न समेत उनले सुझाव राखे ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघ, टान गण्डकी, नाट्टा गण्डकी, महिला पर्यटन व्यवसायी मञ्च, पोखरा पंक्षी समाज, नेपाल हवाई खेलकूद संस्था लगायतका तर्फबाट अध्यक्ष तथा प्रतिनिधिहरुले महोत्सवलाई सफल पार्न आफ्नो संस्थाका तर्फबाट साथ र सहयोग रहने प्रतिवद्धता जनाएका थिए ।

पर्यटन, संस्कृति र खानालाई जोड दिएर आयोजना गरिने महोत्सवले कोरोना महामारीका कारण थला परेको पर्यटनलाई पुरानो लयमा फर्काउन केही हदसम्म भए पनि सघाउन पुग्ने विश्वास संघले लिएको छ । संघका निवर्तमान अध्यक्ष विकल तुलाचनले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरे । कार्यक्रमको संचालन संघका महासचिव राजेन्द्र ढकालले गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...