पोखरामा नयाँ विषयमा नाटक मञ्चन हुँदै

पोखरा, २१ चैत/रेनाँसा थिएटरको प्रस्तुतीमा पोखरामा नयाँ नाटक मञ्चन हुने भएको छ । नयाँ वर्षको शुरु (वैशाख १) देखि १५ दिनसम्म नाटक मञ्चन हुने निर्देशक धु्रव पौडेलले जानकारी दिए । साहित्यकार बुद्धिसागरको कथालाई नाटकमा रुपान्तरण गरेर नाटक मञ्चन गरिनेछ । स्मृति बिक्रि केन्द्र शिर्षकको कथालाई ऋतेशले नाट्य रुपान्तरण गरेका हुन् ।


नाटकले विज्ञान र प्रविधिको क्षेत्रमा भविष्यमा हुनसक्ने चमत्कारिक विकासलाई उठान गरेको निर्देशक पौडेलले बताए । ‘विज्ञान र प्रविधिको क्षेत्रमा दैनिक जसो चमत्कारहरु भईरहेका छन् । निकट भविष्यमा हामीले नाटकमा उठाएको विषयजस्तो चमत्कार नहोला भन्न पनि सकिन्न ।’ उनले भने ।पोखराको गैरापाटन स्थित पोखरा थिएटरको गन्धर्व नाटकघरमा नाटक मञ्चन हुनेछ । शनिवार तथा सार्वजनिक विदाको दिनमा दुई शो तथा अन्य दिन एक शो नाटक मञ्चन हुने रेनाँसा थिएटरका सँस्थापक एम डि काफ्लेले जानकारी दिए ।

 

नाटकमा प्रमिला तुलाचन, राजेन्द्र अधिकारी, विभु प्रसाद भुसाल, जनक पराजुली, विष्णु तिमिल्सिना, लक्ष्मण डुम्रे, उमा पुन, शितला अधिकारी, प्रियङ्का खड्का, कविता घर्तीमगर, सुस्मिता काप्री, सन्देश भण्डारी लगायतले अभिनय गरेका छन् ।  यो नाटकबाट पोखराका दर्शकले नयाँ स्वाद प्राप्त गर्ने रेनेँसा थिएटरले विश्वास व्यक्त गरेको छ । ‘पोखरामा धेरै नाटकहरु मञ्चन भए, दर्शकहरुले मन पराउनुभएको छ ।’ निर्देशक पौडेलले भने, ‘पौराणिक कथामा आधारित, लोक नाटक लगायत अन्य धेरै विषयहरुमा मञ्चन भएका छन्, तर अहिले हामीले विल्कुल फरक विषयमा प्रस्तुती दिन खोजेका छौ ।’नाटक मञ्चनका लागि अहिले अभ्यास र सेट निर्माणको काम धमाधम भईरहेको थिएटरले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...