वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाद्वारा पाेखराका जनप्रतिनिधि र काेरिया रहेका ब्यक्तिका परिवारसँग अन्तरक्रिया

पोखरा । वैदेशिक रोजगार विभाग ईपीएस कोरियाशाखाको आयोजनामा जनप्रतिनिधि,कर्मचारी, स्वास्थ्य स्वयंसेवीका र काेरियामा रहेका ब्यक्तिका परिवारसँग अन्तरक्रिया  कार्यक्रम बुधबार र बिहीबार पोखरामा सम्पन्न भएको छ ।

रोजगार अनुमति प्रणाली ईपीएस मार्फत दक्षिण कोरिया गएका नेपालीका परिवारका सदस्यलाई लक्षित गरेर बिहीबार गरिएको कार्यक्रमका सहभागीले ईपीएस मार्फत कोरिया गएका परिवारको अवस्थामा आएको परिवर्तन, परिवारबाट उनीहरुलाई प्रदान गर्नुपर्ने वातावरणका विषयमा बोलेका थिए ।

पोखरा महानगरपालिकासँगको समन्वयमा भएको कार्यक्रममा सहजकर्ताको रुपमा वैदेशिक रोजगार विभाग ईपीएस कोरियाशाखाका निर्देशक मैया कँडेल, पूर्व काउन्सलर रमा भट्टराई र शाखा अधिकृत कमलराज श्रेष्ठ रहेका थिए ।

 

उनीहरुले ईपीएस कोरिया शाखाको संगठनात्मक परिचय, भाषा परीक्षाको वर्तमान अवस्था, ईपीएस भाषा परीक्षा प्रणालीको निष्पक्षता र पारदर्शीता, इपीएस मार्फत कोरिया गएकाको अवस्था, आउने चुनौती, पर्न सक्ने समस्या, परिवारका सदस्यले खेल्नुपर्ने भूमिका लगायतका विषयमा उदाहरण सहित प्रष्ट पारेका थिए । कार्यक्रममा ईपीएस मार्फत कोरियामा गएर फर्केका तथा कोरियामा रहेकाका परिवारका सदस्यले आफ्ना अनुभव सहित जिज्ञाशा समेत राखेका थिए ।

 

सोही कार्यक्रममा कोरियाबाट फर्केका नेपाली कामदारको स्थिर पुनः एकीकरण प्रणाली सुदृढीकरणका लागि कोइकाको सहयोगमा सञ्चालित ‘के हामी’ परियोजनाको बारेमा समेत जानकारी गराइयो । २०२२ मे ३१ म हस्ताक्षर भएको यो परियोजना सन् २०२३ देखि कार्यान्वनमा आएको छ । ८० लाख अमेरिकी डलर बजेट रहेको यो परियोजनाको लाभग्राही ईपीएस मार्फत कोरिया गई फर्केका हुन् । परियोजनाको कार्यान्वयन कोरिया मानव संसाधन विकास सेवाले गर्दछ ।

 

यस अगाडि बुधबार जनप्रतिनिधि, कर्मचारी, सामाजिक शिक्षक, महिला स्वंमसेविकालाई लक्षित गरेर अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको पाेखरा महानगरपालिकाका राेजगार संयाेजक विष्णुप्रसाद दाहालले जानकारी दिए । कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...