पोखरा, जेठ । पोखरा महानगरपालिकाको सार्वजनिक लेखा समितिले पोखरा महानगरको बेरुजू असुलउपर गर्न कार्यपालिकालाई निर्देशन दिएको छ । समितिको विहीबार बसेको बैठकले पोखरा महानगरपालिकामा देखिएको बेरुजू जसको नाममा देखिएको हो उसैबाट असुलउपर गर्न निर्देशन दिएको हो ।
समितिका संयोजक झपटबहादुर रानाभाटको अध्यक्षतामा विहीबार बसेको बैठकमा महानगरमा देखिएको बेरुजू असुलउपर गर्नेबारे छलफल भएको थियो । छलफलमा समितिका सबै सदस्यहरुले बेरुजूका कारण पोखरा महानगरको बदनामी भएको र यसले दण्डहिनतालाई प्रश्रय दिएको भन्दै तत्काल बेरुजू असुलउपर गर्नुपर्नेमा जोड दिए । उनीहरुको एउटै धारणा थियो,बेरुजू जसको नाममा देखिएको हो उहिबाट असुलउपर गराउनुपर्छ ।’ सोहि धारणालाई समष्टिगत गर्दै समितिका संयोजक झपटबहादुर रानाभाटले बेरुजू रकम असुलउपर गर्नका लागि प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापालाई पत्र लेख्ने निर्णय भएको बताए ।
समितिले बेरुजू फछ्र्यौट नगर्नेको तीनपुस्ते सार्वजनिक गर्नपनि महानगरलाई निर्देशन दिएको छ । बेरुजू तिरे ठीक छ, संयोजक रानाभाटले भने,‘नतिर्नेको सञ्चारमाध्यममार्फत तीनपुस्ते सार्वजनिक गर्न निर्देशन दिएका छौं ।’ पोखरा महानगरमा आर्थिक सुशासन कायम गर्नका लागि यस्तो निर्देशन दिइएको बताउँदै उनले भने,‘महानगरका पदाधिकारी, कर्मचारी, राजनीतिक पहुँच भएका वा निर्माण कम्पनी जो भएपनि असुल गरौं । त्यस्तालाई पानीमुनी गएपनि छाड्न हुँदैन ।’
पोखरा महानगरपालिकामा हालसम्म ३ अर्ब ३ करोड ९१ लख १३ हजार ६ सय ४० रुपैयाँ बेरुजू रहेको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ । जसमध्ये अघिल्लो आर्थिक वर्ष २०७९÷८० मा मात्र ७९ करोड ४९ लाख ८० हजार २ सय ३८ रुपैयाँ बेरुजू देखिएको छ । १ अर्ब ३४ करोड ३९ लाख ५९ हजार ८ सय ३६ रुपैयाँ कुल बेरुजू भएपनि लेखा समितिको सिफारिसमा महालेखा परीक्षकको कार्यालयले ५४ करोड ८९ लाख ७९ हजार ५ सय ९८ रुपैयाँ बेरुजूलाई नियमित गरेर फछ्र्यौट गरिदिएको छ ।
समितिले ७३ करोड ५० लाख बेरुजू फछ्र्यौट गर्नका लागि सिफारिस गरेको तर केहि घटाएर बेरुजू नियमित गरिदिएको समितिका संयोजक झपटबहादुर रानाभाटले बताए । सार्वजनिक लेखा समितिको पहलमा पोखरा महानगरपालिकाको इतिहासमै पहिलोपटक बेरुजू नियमित भएको उनको दाबी छ । महानगरपालिकाका पदाधिकारीहरुले मैले गर्दा बेरुजू नियमित भएको भन्ने दाबी गरेको भन्दै भ्रम सिर्जना गरेकोपनि सुन्नमा आएको छ,उनले भने,‘तर यो गलत हो, यहाँ काम गर्ने कालु, मकै खाने भालु’जस्तै गर्न खोजिएको छ । लेखा समितिको पहल र सिफारिसमा बेरुजू नियमित भएको हो ।’
लेखा समितिका सदस्य सचिव रोमनाथ उपाध्यायले बेरुजू सुसासनको नकारात्मक सूचक भएकाले यसलाई असुलउपर गर्नु महानगरको दायित्व भित्र पर्ने बताए । लेखा समितिको निर्णयमा कार्यपालिकाका सबैको समर्थन देखिने भएकाले महालेखा परीक्षकको कार्यालयले बेरुजू नियमित गर्ने उनको भनाई छ ।