अनुशासित समाज निर्माण गर्न सामाजिक संघसंस्थाको महत्वपूर्ण भूमिकाः प्रदेश प्रमुख भट्ट

पोखरा, भदौ ।गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले अनुशासित समाज निर्माण गर्न समुदाय स्तरमा स्थापित सामाजिक संघसंस्थाको महत्वपूर्ण भूमिका रहने बताउनुभएको छ ।संघसंस्थाहरुले सामाजिक अभियन्ता तथा सामाजिक, राजनीतिक अगुवा नेतृत्वको निर्माण गरी समाज र राष्ट्रको असल र कुशल नेतृत्व निर्माणमा समेत भूमिका खेलेको बताउनुभयो ।

पोखरा लामाचौर स्थित नवआदर्श सामुदायिक विकास समाजको २८ औं वार्षिकोत्सव समारोह, लामाचौर तीज महोत्सव, तीजे गीत प्रतियोगिता तथा विभिन्न राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।सेवा हीः परमो धर्म ‘मौलिक संस्कृतिको जगेर्ना गरौँ’ भन्ने मूल नाराका साथ नव आदर्शले २०५४ सालदेखि नै हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा वार्षिक रुपमा लामाचौरमा तीज महोत्सव सञ्चालन गर्दै आएकोमा खुशी पनि व्यक्त गर्नुभयो ।

पोखराको लामाचौर र बाटुलेचौर क्षेत्रको खुलेर प्रशंसा गर्नुभएका प्रदेश प्रमुख भट्टले सांगीतिक तथा खेलकुदका गतिविधि मात्र नभई सामाजिक सेवामा पनि संस्था समर्पित रहनु प्रशंसनीय पक्ष रहेको बताउनुभयो ।

उहाँको मन्तव्य सारः

गण्डकी प्रदेशको राजधानी पोखराको उत्तरी भागमा पवित्र सेती गण्डकीको किनारमा अवस्थित ऐतिहासिक पृष्ठभूमि बोकेको लामाचौर क्षेत्र, सांस्कृतिक मूल्य र मान्यता बोकेको स्थान पनि हो।यसै ठाउँमा २७ वर्ष अघि स्थापना भएको यस आयोजक संस्थाले लोक संस्कृतिको जगेर्ना, खेलकुद तथा विविध विधाहरुमा प्रतियोगिता सञ्चालन गरी अग्रणी संस्थाको रुपमा पहिचान कायम गर्न सफल भएको थाहा पाएँ ।

मानवीय सेवाको लागि आकस्मिक एम्बुलेन्स सेवा र शव वाहन सेवा समेत निःशुल्क सञ्चालन गरी पुण्यको काम गरेको छ । गोस्तेघाट खेलकुद मैदान निर्माण तथा संरक्षणमा यसले ठूलो योगदान दिएको छ । यस्तै, विभिन्न विद्यालयहरुमा अक्षयकोष स्थापना गरी छात्रवृत्ति मार्फत् विद्यार्थीहरुको पठनपाठनमा सहयोग पु¥याउँदै शैक्षिक क्षेत्रमा पनि भूमिका खेलेको छ ।

यस संस्थाको पहिचान एउटा सबल सामाजिक गैरसरकारी संस्थाको रुपमा रहेको मैले पाएको छु । बालकदेखि वृद्धसम्म सबैको साझा घरको रुपमा आफूलाई उभ्याउन सफल भएकोमा संस्थालाई बधाई एवं शुभकामना दिन चाहन्छु।कला, साहित्य र संस्कृति संरक्षणको क्षेत्रमा गण्डकी प्रदेशकै ऐतिहासिक स्थल यस लामाचौर र बाटुलेचौरमा समय समयमा आयोजना हुने गरेका सांस्कृतिक मेला महोत्सव तथा खेलकुदका गतिविधिहरूले पोखरासहित समग्र गण्डकी प्रदेशको छुट्टै चिनारी स्थापना गरेको छ ।

 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न यस्ता प्रतियोगिताको महत्वपूर्ण भूमिका छ । सामुदायिक स्तरबाट वर्षौैँ वर्ष चलिरहेका यस्ता मेला महोत्सवहरुले हामीमा सामूहिक भावनाको विकास गराउँदै आपसी मेलमिलाप, विकासमा हातेमालो गर्दै अघि बढ्न सहयोग गर्दछ ।मैले गत साता यहीँ नजिकै बाटुलेचौरको कार्यक्रममा समेत स्मरण गरेँ । यो ठाउँ यहाँको सबैभन्दा पूरानो बसोबास स्थान हो । मानवबस्ती बाक्लिएसँगै संस्कृति र संगीतको उद्गम स्थलका रुपमा रह्यो ।

 

विशेष गरी बाइसे चौबिसे राजाहरुको पालामा राजा कुलमण्डन शाहको गृष्मकालीन बसोबास गर्ने स्थानका रुपमा यो क्षेत्र परिचित स्थान हो । एकीकरण पूर्व यस लामाचौर चोक तबलाको बारी घोडा राख्ने ठाउँको रुपमा समेत प्रसिद्ध थियो ।पहिले अड्डा अदालत नभएको अवस्थामा भद्रभलाद्मीहरू बसेर मुद्धामामिला टुंगाउने काम हुन्थ्यो । तत्कालीन अमाली बिसौनीबाट अमलाविसौनी ठाउँको नाम रहन गएको बुझेको छु । राजा कुलमण्डन शाह कास्कीकोटको तत्कालीन दरबारबाट यस स्थान लामाचौर, बाटुलेचौर आउँदा बाबियाको लठ्ठो बुनेर सेती नदी तरेको हुँदा बाबियाको तरो भनिएको रहेछ ।

 

खोँच उक्लने र ओर्लने गर्दा अकलाको शक्तिपीठ निर्माण गरेको भिरमा भएको मन्दिर आज यस क्षेत्रको प्रशिद्ध धार्मिक पर्यटकीय स्थल अकला मन्दिर नामाकरण भएको बुझेको छु। विक्रम सम्वत् १९७२ मा योगी नित्यानन्दले नित्यानन्द पाठशालाको रुपमा सुरुवात गराई गुरुकुल शिक्षा मार्फत् यस क्षेत्रको शिक्षाको आरम्भ भएको थियो ।

 

सरकारले अधिग्रहण गरेर राखेको जग्गा वितरण गरेको ठुली बेसीको फाँट हुँदै तत्कालीन घले राजा अर्मलाकोट गई बसोबास गर्ने गरेको बुझिन्छ । सयौं वर्षको इतिहास बोकेको अकला भगवती, सुरथेश्वर शिवालय लगायत धार्मिक पर्यटकीय सम्भावना बोकेका प्रशस्त स्थलहरु यहाँ छन् । लामाचौर, बाटुलेचौर, पुरुन्चौर, घार्मी र अर्मला यस क्षेत्रका महत्वपूर्ण प्राकृतिक सम्पदाले पूर्ण स्थान यस क्षेत्रको पहिचान हो ।

 

गन्धर्वका सारङ्गी संस्कृति, परियारहरुका पञ्चेबाजा, नेवारहरुका लाखे नाच, ब्राह्मण क्षेत्रीका कृष्ण चरित्रलगायतका कारण यस क्षेत्र सांस्कृतिक पक्षमा धनी छ । जनकविकेशरी धर्मराज थापा, लोकगायक झलकमान गन्धर्वहरुले यस क्षेत्रलाई आफूसँगसँगै लोकमा फैलाउनुभएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...