पाेखरा, असाेज ५ गते ।पाेखरा महानगरपालिकाका कार्यबाहक मेयर मञ्जुदेवी गुरुङले सहकारीहरु नीति र विधिमा रहेर संचालन गर्नुपर्नेमा जाेड दिनुभएकाे छ ।
जय रुपाताल बचत तथा ऋण सहकारी संस्थाकाे १२ आै वार्षिक साधारण सभाकाे शनिबार उद्घाटन गर्दै उहाँले सहकारीले आफ्नो मूल्य र मान्यता विपरीत चलेका कारण समस्यामा परेकाे बताउनुभयाे ।उहाँले सहकारीका सात सिद्धान्तलाई आत्मसात गरेर संचालन हुदाँ समस्या नपर्ने बताउदै अहिले सहकारी संस्था प्रतिकाे आस्था गुम्दै गएकाे उहाँको भनाई थियाे ।
उहाँले सहकारी संस्थाकाे अनुगमन प्रभावकारी बनाउनुपर्ने बताउदै सहकारीका शेयर सदस्यहरुले पनि सहकारीका बारेमा समय समयामा जानकारी लिने र खबरदारी गर्नुपर्ने बताउनुभयाे ।
जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्रा काेइरालाले सहकारीहरु नाफा कमाउने तर्फ बढि केन्द्रित हुदाँ समस्यामा परेकाे बताउनुभयाे ।उहाँले सहकारी संचालक इमानदार बन्नुपर्ने र शेयर सदस्यहरुले नाफा मात्रै खाेज्ने अनि काराेबार बैंक मार्फत गर्ने गर्दा समस्या हुने बताउनुभयाे ।
जय रुपा बचत ऋण सहकारीका अध्यक्ष धिरजकुमार श्रेष्ठकाे अध्यक्षतामा भएकाे कार्यक्रममा सेयर सदस्य शुभद्दा घिमिरे, सल्लाहकार गाेविन्द प्रसाद पंगेनी,संस्थापक अध्यक्ष ज्ञानेन्द्र बहादुर सुवेदी,तिर्थबहादुर स्वार, रुपा ६ का वडा अध्यक्ष नारायण गुरुङ लगायतले बाेल्नुभएकाे थियाे ।