पोखरा ।वी पी स्मृति पुस्तकालय गण्डकी प्रदेशको आयोजनामा नेपाली काग्रेसको सभाकक्षमा आज भएको विचार गोष्ठी सम्पन्न भएको छ ।
नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माको प्रमुख आतिथ्यतामा भएको गोष्ठीमा सुवर्ण शमशेर र गणेशमान सिंहको तस्विरमा माल्यार्पण गरी गोष्ठीको उद्घाटन गरेका थिए ।
प्रमुख अतिथि शर्माले कार्यक्रमा बोल्दै सुवर्ण शमशेर र गणेशमान सिंहले नेपाली कांग्रेसको विरासतलाई वचाउन दिएको योगदानको वारेमा चर्चा गर्दै पार्टीमा लागेका कार्यकर्ताहरुले सिको गर्न सकेमात्र पनि प्रजातन्त्रमा ठूलो योगदान पुग्ने उल्लेख गरेका थिए ।
स्थापनाकालिन आदर्शलाई व्यवस्थापनमा उतार्दै अगाडि बढेमा कांग्रेस कसैसँग झुक्नु नपर्ने र सधैं जनताको विश्वास जित्न सकिने शर्माले बताए । उनले भने वीपी सिद्धान्त प्रयोग भएपनि कार्यान्यवयन नभएको हुँदा अब नेपाली काँग्रेसले त्यसलाई व्यवहारिक ज्ञानमा अगाडि बढाउनुपर्ने अवस्था आएको जानकारी गराएका थिए ।
सभापति शर्माले राष्ट्र जोगाउनको लागि प्रजातन्त्र आवश्यक रहेको उल्लेख गर्दै राष्टियता, प्रजातन्त्र र समाजवादका बारेमा उल्लेख्य जानकारी गराएका थिए। उनले प्रजातन्त्रको व्याख्या गर्दै प्रजातन्त्र नरहे सम्म देशको विकाश र स्थिरता नहुने स्पष्ट पारे । “प्रजातन्त्र नमान्नेहरु कुनैपनि समयमा विस्तापित हुने र हिजोको समयमा पनि विस्तापित हुँदै गएका छन्। हामी नेपालमा मात्रै नभई विश्वमा नै प्रजातन्त्र आवश्यक छ,” सभापति शर्माले भने ।
त्यसैगरी उपसभापति मेखलाल श्रेष्ठले सुवर्ण शमशेरलेको पार्टी र राष्ट्रलाई गरेको आर्थिक योगदान र गणेशमानले प्रधानमन्त्री त्याग गरी संविधान प्राप्त हुनुमा ठूलो त्याग गरेको बताए । भने महामन्त्री विष्णुप्रसाद लामिछानेले अग्रज नेताहरुको त्याग र वलिदानीको उच्च कदर गर्दै स्मरण गरेका थिए ।
पृथ्वीनारायण क्याम्पसका सह–प्राध्यापक होमनाथ पौडेलले नेपाली कांग्रेस, प्रजातान्त्रीक, समाजवादी, आर्थिक नीति र संस्थापक नेता सुवर्ण शमशेरको विषयमा जानकारी गराएका थिए भने प्रा.डा. वेदनाथ शर्माले नेपाली कांग्रेसः राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र गणेशमान सिंहको विषयमा जानकारी गराएका थिए ।
पुस्तकालयका अध्यक्ष माधवप्रसाद बास्तोला (मधु)ले स्वागत गर्दै कार्यक्रम बारे प्रकाश पारेका थिए । बास्तोलाले नेपाली कांग्रेसका संस्थापक नेताद्वय सुवर्ण शमशेरको ४३ औं स्मृति दिवस र लौहपुरुष गणेशमान सिंहको ११० औं जन्मजयन्तीको अवसरमा विचार गोष्ठी गरिएको जानकारी गराए ।
वी पी स्मृति पुस्तकालय गण्डकी प्रदेशका सदस्य कमल सापकोटाले सञ्चालन गरेको कार्यक्रम कोषाध्यक्ष तथा नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य शिरोमणी बरालले समापन गरेका थिए भने अध्यक्ष माधव प्रसाद वास्तोला (मधु) को अध्यक्षतामा भएको थियो ।