पोखरा, फागुन ७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पोखरामा बृहत विरोध सभा आयोजना गर्ने भएको छ । भ्रष्टाचार र कुशासनको भण्डाफोर गर्ने उद्देश्यले फागुन ९ गते पोखरामा बृहत विरोध सभा गर्न लागेको आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो । ‘नवीन समझदारी’ मार्फत मुलुकलाई निकास दिने उद्देश्यसहित, ‘अवस्था बदल्न, व्यवस्था बदलौं’ भन्ने मूल नाराका साथ राप्रपा गण्डकीले पोखरामा भ्रष्टाचार र कुशासनको भण्डाफोर गर्न ‘बृहत विरोध सभा’आयोजना गर्ने तयारी गरेको राप्रपा गण्डकी प्रदेश अध्यक्ष पञ्चराम गुरुङले दिनुभयो ।
सभामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार लगायत गण्डकी प्रदेशभित्रका सबैखाले भ्रष्टाचारको भण्डाफोर गर्ने हाम्रो तयारी रहेको छ अध्यक्ष गुरुङले पत्रकार सम्मेलनमा भन्नुभयो, “नेपाल आज असफल राष्ट्रका रूपमा दर्ज भइसकेको छ । राजनीतिक, सामाजिक, ऐतिहासिक, विकास, तथा आर्थिक पक्षहरू अत्यन्त कमजोर बनेका छन् । धार्मिक एवं सांस्कृतिक क्षेत्रमा मिसनरी आक्रमण भयावह रूपमा देखिएको छ, जसले नेपालको सम्प्रभुता र नागरिक स्वाभिमानलाई गम्भीर चुनौती दिएको छ ।” उहाँले राजनीतिक दलहरू भ्रष्टाचारमा लिप्त रहेको आरोप समेत लगाउनुभयो ।“संवैधानिक निकायहरू सीमित राजनीतिक दलहरूको नियन्त्रणमा पुगेका छन् । कार्यपालिका र न्यायपालिका समेत निष्पक्ष बन्न सकेका छैनन् । राज्यको अर्थतन्त्रले धान्न नसक्ने खर्च, अनुत्पादक क्षेत्रहरूमा लगानी, र अव्यवस्थित कर प्रणालीका कारण अर्थतन्त्र सङ्कटमा छ ।”
उहाँले कथित जनयुद्ध र पश्चिमी प्रभावको नाममा लादिएको गणतन्त्र, संघीयता, र धर्मनिरपेक्षता नेपाल र नेपाली जनताको लागि घातक साबित भइसकेको आरोप लगाउनुभयो । मुलुक दिनप्रतिदिन कमजोर बन्दैछ । यदि समयमै सचेत भइएन भने नेपाल स्वतन्त्र राष्ट्रका रूपमा रहने छैन उहाँले भन्नुभयो,“राप्रपा यस असहज परिस्थितिलाई गम्भीरतापूर्वक लिँदै चरणबद्ध आन्दोलन र विरोधका कार्यक्रमहरू तय गर्दैछ । यही क्रममा, गण्डकी प्रदेशस्तरीय सभा आयोजना गरिएको छ ।”
राप्रपाका आफना प्रमुख एजेण्डाका रुपमा संवैधानिक राजसंस्थाको पुनःस्थापना,प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र राजनीतिक स्थायित्व सुनिश्चित गर्न,पूर्ण समानुपातिक संसद र सांसदहरूले मन्त्री बन्न नपाउने व्यवस्था, विज्ञहरुबाट मन्त्री बनाउने,संघीयता खारेज, केन्द्र र बलियो स्थानीय सरकारयुक्त राज्य संरचना,सनातन हिन्दू अधिराज्य, पूर्ण धार्मिक स्वतन्त्रताको प्रत्याभूति, उच्च पदस्थ नेताहरू तथा कर्मचारीहरूको सम्पत्ति छानबिन र सम्पूर्ण भ्रष्टाचारको विस्तृत अनुसन्धान रहेका छन् । त्यस्तै भ्रष्टाचार, विभेद, र अन्यायको अन्त्य गर्दै सुशासन र पारदर्शिताको प्रत्याभूति, रोजगारी सिर्जना, उर्जा, पर्यटन, कृषि, तथा सूचना प्रविधिको माध्यमबाट समृद्धि हासिल गर्न आफना एजेण्डा रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । विरोध सभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन्, राप्रपा नेता ज्ञानेन्द्र शाही लगायतले सम्वोधन गर्ने राप्रपा केन्द्रीय सदस्य अरुण गिरीले जानकारी दिनुभयो ।