पोखरा । पोखरा महानगरपालिका वडा नं. २२ उल्लेरी गाउँको थाप्लोमा रहेको थाप्लेडाँडाको अहिले नयाँ परिचय थाप्ले टाइगर हिल भएको छ ।
हरेक महिनाको अन्तिम शनिबार हाइकर्स क्लब नेपालको आयोजनामा स्वास्थ्य र पर्यटनको लागि हाइकिङ भन्ने मुल नाराका साथ हुँदै आएको हाइकिङको ५६ औं श्रृङ्खलामा सोही थाप्ले टाइगर हिल र ४ सय वर्ष पुरानो सिद्ध बाबा मन्दिरको प्रवद्र्धन गर्न एक दिने हाइकिङ कार्यक्रमको आयोजना गरिएको हाइकर्स क्लब नेपालका अध्यक्ष कृष्ण रानाभाटले वताए ।
उल्लेरी गाउँका वस्तुभाउ विरामी हुने, चरनमा गएका हराउने भए पछि ४०० वर्ष अगाडि सिद्ध बाबाको मन्दिर स्थापना गरी पुजा गर्न थाले पछि सबै समस्या निराकरण भएको गाउँका अगुवा थाप्ले टाइगर हिल व्यवस्थापन समितिका अध्यक्ष मानसिं गुरुङले वताए । हाल सोही ठाउँमा भ्यु टावर, स्तुपा, प्रतिक्षालय, शौचालय, किचन, ४ हजार लिटरको पानी टंकी, विजुली बत्ती र जंगली जनावरहरुको लागि प्लाष्टिक पोखरी लगायतका भौतिक संरचनाहरु निर्माण गरिएकोले क्याम्पिङ गर्न पनि सकिने उनले वताए ।
पोखरा २२ उल्लेरी गाउँ स्वादिलो काँक्रा उत्पादन हुने गाउँको नामले प्रख्यात रहेको र यहाँका किसानले काँक्रा वेचेर वार्षिक करोडौं आम्दानी गर्दै आएकोमा हाल होमस्टे संचालनको पनि तयारी भइरहको हाल पाहुनालाई खानवस्नको व्यवस्थापन गर्दै आउनु भएका नत्थु गुरुङले वताए ।
पृथ्वीचोक वसपार्कबाट पोखरा–२२, भुम्दि स्थित पैँयु चौतारासम्म नगरवसमा पुगेर पैदल यात्रा सुरु गरिएको सो हाइकिङमा गण्डकी प्रदेश निति तथा योजना आयोगका माननिय सदस्य दिपक भण्डारी, लोक गायक छवि घर्तिमगर र गायिका दिलकुमारी खाँण, पुल्चोक क्लब पोखरा १७ का संस्थापक अध्यक्ष सुरज खवास, ७६ वर्षिय पुर्व प्र.स.नि. यामबहादुर रानाभाट, ट्रेकिङ गाइड नरमाया राना, व्यवसायी, विद्यार्थी, विभिन्न पेशा व्यवसायमा आवद्ध ३२ जनाको सहभागिता रहेको क्लबकी कोषाध्यक्ष टिका आचार्य सुवेदीले वताइन् । उनले क्लबको आजिवन सदस्यको लागि ३ हजार र साधारण सदस्यता लिनको लागि ५ सय लाग्ने पनि सो अवसरमा जानकारी गराएकी थिइन् ।
हाइकर्स क्लब नेपालले हाल सम्म कास्की, स्याङजा र तनहुँ ३ जिल्ला भित्रका १ महानगरपालिका, ६ गाउँपालिका, ३ नगरपालिकाका सामुदायिक होमस्टेहरु, ऐतिहासिक मठ मन्दिर, पर्यटकिय स्थलहरुको हाइकिङका माध्यमबाट प्रवद्र्धन गर्दै आइरहेको छ ।