पोखरा । फेवातालमा हरेक बर्ष गरिने जलकुम्भी सरसफाई अभियान यस वर्ष पनि सुरु गरिएको छ । पोखरा १८ खपौदी ढल्केबर स्थित फेवतालमा वातावरण संरक्षणका लागि महाअभियान कास्कीको आयोजनामा आइतबारबाट सुरु गरिएको हो । जनप्रतिनिधि, अभियान्ता, नागरिक समाज, आमा समूह, जलारी समुदाय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायत स्थानीयको सहभागितामा फेवातालको जलकुम्भी सरसफाई अभियान शुभारम्भ गरिएको छ ।
हरेक बर्ष चैत्रमा हुने उक्त कार्यक्रम यस बर्ष पनि संचालन गरिएको हो । आज सरसफाई अभियानको शुरुवात गर्दै कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बल कालिका गणका प्रमुख सूर्य प्रसाद तिमिल्सिनाले फेवाताल पोखराको आकर्षण केन्द्र रहेको र यसको संरक्षण तथा सरसफाई गर्नु सम्पुर्ण आम जनसमुदाय तथा सरोकारवाला निकायहरुको जिम्मेवारी र दायित्व रहेको बताए ।
पोखरामा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आम पोखरा बासिहरुले यसको सौन्दर्यता, सफा र स्वच्छ फेवातालको लागि यस्ता कार्यक्रमहरुले महत्वपुर्ण भुमिका निर्वाह गर्ने उनको भनाइ छ । यस्ता सामाजिक कार्यहरुमा सशस्त्र प्रहरीको सक्रिय सहभागिता रहने समेत उनले प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै जलकुम्भी सरसफाई अभियानलाई निरन्तरता दिन सबैले साथ दिन वातावरण संरक्षणका लागि महाअभियान कास्किका संयोजक राम बहादुर पौडेलले अनुरोध गरे ।
आईतबार सम्पन्न सरसफाई कर्यक्रममा ३ सय बढीको सहभागिता थियो ।