पोखरा, १८ चैत । पत्रकारको योजनावद्ध हत्या र सञ्चारगृह तथा पत्रकारमाथि गरिएको आक्रमण तथा आगजनीको विरोधमा नेपाल पत्रकार महासंघ आन्दोलित छ । महासंघ केन्द्रीय समितिको आह्वानमा सोमबार नेपाल पत्रकार महासंघ कास्कीले कास्कीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाएको छ ।
महासंघ कास्कीका अध्यक्ष माधब प्रसाद बरालले प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेलाई पत्र बुझाउनुभयो ।ध्यानाकर्षणपत्र वाचन गर्दै महासंघ कास्कीका सचिव भुपाल गुुरुङले ज्यान गुमाएका पत्रकारको हत्याबारे गहिरो अनुसन्धान गरी हत्यामा संलग्न सबैलाई फौजदारी अभियोगमा कारबाही गर्न तथा उनको परिवारलाई क्षतिपूर्ति दिन, सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि आक्रमण गर्ने सबैलाई कानूनी कठघरामा ल्याउन तथा क्षति पु¥याइएका सञ्चारगृह र सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचारको प्रबन्ध मिलाउन महासंघ जोडदार माग गर्नुभयो ।
पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले घटनाप्रति दुख ब्यक्त गदै सम्बन्धित ठाँउमा पत्र पठाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो । महासंघको विरोध कार्यक्रमअन्तर्गत सोमबार केन्द्रीय समिति, प्रदेश समिति र शाखामार्फत नेपाल सरकारलाई ध्यानाकर्षणपत्र बुझाइएको हो । प्रदेशमा मुख्यमन्त्री वा आन्तरिक मामिला मन्त्री र शाखा समितिले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
शुक्रबार काठमाडौंको तीनकुनेमा हिंसात्मक प्रदर्शनका क्रममा भिडियो खिच्ने क्रममा पत्रकार सुरेश रजकको आगोमा जलेर ज्यान गएको थियो । अन्नपूर्ण पोष्ट दैनिकको कार्यालय भवनको भुइँतल्लामा आगो लगाउनुको साथै ढुंगामुढा गरी क्षति पु¥याइएको, कान्तिपुर टेलिभिजनको भवनमा ढुंगामुढा गरी क्षति पु¥याइएको, हिमालयन टेलिभिजनको सवारीसाधनमा तोडफोड गरिएको, पत्रकार दिनेश गौतममाथि आक्रमण गरी खुट्टा भाँचिएको, फोटो पत्रकार निराज तामाङको क्यामेरा हराएको छ ।