पोखरा विमानस्थलमा अनियमितता भए छानबिन गर तर त्यही बहानामा अन्तर्राष्ट्रिय उडान रोक्ने प्रपञ्च नहोस्

पोखरा,  वैशाख १० गते  । पोखरा उद्योग वाणिज्य संघले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा अनियमितता भए छानबिन गर्नुपर्ने तर त्यही बहानामा अन्तर्राष्ट्रिय उडान रोक्ने प्रपञ्च नहोस् भन्ने माग गरेको छ ।

संघका महासचिव शोभा गौतमबाट मंगलबार जारी विज्ञप्तिमा भनिएको छ,‘ निर्माणको क्रममा अनियमितता भएको छ भने त्यसको  छानबिन र दोषीमाथि हदैसम्मको कारवाही होस् ।

 

विज्ञप्तिमार्फत् संघले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा भाँजो नहाल्न  सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै त्यस्ता गतिविधिको सशक्त प्रतिवाद गर्ने उद्घोष पनि गरेको छ ।संघीय संसदको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिको प्रतिवेदनमा एयरपोर्ट निर्माणको क्रममा भ्रष्टाचार भएको किटान गरिएपछि पोउवा संघले यस्तो प्रतिक्रिया जनाएको हो ।
संघकै अगुवाइ, निरन्तरको पैरवी र लामो रिले अनसनपछि विमानस्थल निर्माण भएको स्मरण गर्दै विज्ञप्तिमा भनिएको छ,‘  संघको ‘भगिरथ प्रयास’ को जगमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको भन्नेमा कुनै द्विविधा छैन ।

 

विज्ञप्तिमा  विमानस्थल निर्माणकै बेला रोक्न भाँजो हालिएको जिकिर गर्दै अगाडि भनिएको छ,‘ ती घटनाहलाई हामीले संघीय राजधानी काठमाडौंको केन्द्रीकृत मानशिकताको उपज भएको ठहर गरेका थियौँ । अहिले पनि त्यस्ता मानशिकता बोक्ने मान्छेहरु क्रियाशिल छन् र उनीहरु अधिकार प्रत्यायोजन एवं अर्को क्षेत्रको विकास चाहँदैनन् कि भन्ने हामीलाई महसुस भएको छ ।’
सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...